सिजनको पहिलो खेलमै सालाहको ह्याट्रिक : लिड्समाथि लिभरपुलको कठिन जित

काठमाडौं, भदौ २८
मोहमद सालाहले नयाँ सिजन २०२०–२१ को पहिलो खेलमै ह्याट्रिक गोल गरेपछि साबिक च्याम्पियन लिभरपुलले प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जितसहित सिजनको थालनी गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा जोर्गेन क्लोपको टिम लिभरपुलले आफ्नो घरेलु मैदानमा पाहुना टोली लिड्स युनाइटेडमाथि ४–३ को रोमाञ्चक जित निकाल्यो ।

घरेलु मैदान एनफिल्डमा पाहुना टोलीसँग चर्को दबाबमा परेको लिभरपुलले दुई पेनाल्टी पाउँदा स्पष्ट जितसहित सिजनको सुरुआत गर्न सकेको हो । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको लिड्सले लिभरपुलको घरमा उत्कृष्ट प्रदर्शन गर्दै पटक–पटक खेलमा फर्किएको थियो । तर, अन्तिम समयमा लिभरपुलले पेनाल्टी पाउँदा घरेलु टोलीले ४–३ को जित निकाल्न सफल भयो । लिभरपुलको घरेलु मैदानमा पटक–पटक पछि परे पनि लिड्सले उत्कृष्ट पुनरागमन गर्दै लिभरपुलमाथि चर्को दबाब सिर्जना गरेको थियो ।

आफ्नो घरमा लिभरपुलका लागि खेलको चौथो मिनेटमै सालाहले पेनाल्टीमार्फत् गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । लिड्सका खेलाडीले बक्समा ह्यान्ड बल गरेपछि घरेलु टोलीलाई पेनाल्टी दिइएको थियो । त्यसपछि १२औं मिनेटमा लिड्सका लागि ज्याक ह्यारिसनले बराबरी गोल फर्काए । बक्स क्षेत्रबाट उनले हानेको शक्तिशाली प्रहारले सोझै जाली चुमेको थियो । त्यसपछि २०औं मिनेटमा लिभरपुलका लागि डिफेन्डर भर्जिल भान डाइकले हेडिङमार्फत् सुन्दर गोल गरेर टिमलाई २–१ को अग्रता दिलाए ।

तर, ३०औं मिनेटमा पाहुना टोली लिड्स खेलमा फर्कियो । लिभरपुलका डिफेन्डर भान डाइकले बक्स क्षेत्रमा गल्ती गर्दा त्यसको फाइदा उठाउँदै लिड्सका लागि प्याट्रिक बामफोेर्डले गोल गरेर खेल २–२ बनाए ।

तर, बराबरी गोल खाएकोे ३ मिनेटपछि नै लिभरपुलका लागि सालाहले शानदार गोल गरे । सालाहले बक्स लाइन नजिकैबाट बुलेट सटमा निकै सुन्दर गोल गरेका थिए । उनको सो गोलपछि खेलको पहिलो हाफमा लिभरपुलले ३–२ को अग्रता लियो ।

त्यसपछि दोस्रो हाफमा पुनः पाहुना टोली लिड्स खेलमा फर्कियो । खेलको ६६औं मिनेटमा माटेउस्ज किल्चले गोल गर्दै खेललाई ३–३ बनाए । त्यसपछि थप आक्रामक बनेको लिड्सले घरेलु टोलीविरुद्ध पटक–पटक मुभ बनायो । तर, उसका प्रयास सफल भएनन् । सोहीक्रममा खेलको ८८औं मिनेटमा लिभरपुलले दोस्रो पेनाल्टी पायो । बक्समा लिड्सका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीमा सालाहले नै गोल गर्दै आफ्नो ह्याट्रिक मात्रै पूरा गरेनन्, टिमलाई ४–३ को महत्त्वपूर्ण जित पनि दिलाए ।

अब यो जितसँगै लिभरपुलले सिजनको पहिलो खेलबाटै ३ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको छ । पहिलो स्थानमा गत राति नै आफ्नो खेल जितेको आर्सनल रहेको छ । पराजित लिड्स १८औं स्थानमा छ ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १८:१३
Loading...