प्रिमियर लिगमा आर्सनलको शानदार सुरुआत : डेब्युमै चम्किए विलियन

काठमाडौं, भदौ २७
इंग्लिस क्लब आर्सनलले प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२०–२१ मा शानदार सुरुआत गरेको छ । उसले लिगको उद्घाटन र आफ्नो पहिलो खेलमा फुलहाममाथि ०–३ को प्रभावशाली जित निकाल्यो । शनिबार फुलहामको घरमा भएको खेलमा आर्सनलले एकपक्षीय जित निकाल्दै नयाँ सिजनको सुरुआत गरेको हो ।

आर्सनलको जितमा ३ जना खेलाडीले गोल गरे भने ब्राजिलियन प्ले मेकर विलियनले डेब्यु खेलमै शानदार प्रदर्शन गरे । यसै समर सिजनमा चेल्सीबाट फ्रि ट्रान्सफरमा आर्सनल पुगेका उनले आर्सनलको जर्सीमा डेब्यु खेलमै प्रभावशाली प्रदर्शन गर्दै २ गोलमा असिस्ट गरे । उनले २ गोलमा सोझै असिस्ट गरे भने सुरुआतको गोलमा पनि भूमिका खेलेका थिए ।

आर्सनलका लागि खेलको आठौं मिनेटमा एलेक्सान्ड्रे लाकाजेटले बक्स भित्रबाट पहिलो गोल गरेका थिए । उनको सो गोल सिजन २०२०–२१ को सिजनकै पहिलो गोल थियो । त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ आर्सनलले दोस्रो गोल थप्यो । विलियनले हानेको फ्रि किकमा ग्याब्रिएलले डाउन हेडिङमार्फत् सहजै गोल गरेर अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ५७औं मिनेटमा आर्सनलका लागि प्रमुख खेलाडी पियरे इम्रिक अउबामेयाङले गोल हाने । उनले मैदानको माथिल्लो भागबाट विलियनको पासमा तल्लो बार च्याप्दै हानेको शक्तिशाली प्रहारले सोझै जाली चुम्यो । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल आर्सनलले ०–३ ले जित्यो ।

अब यो जितपछि आर्सनल अन्य टोलीले आफ्नो खेल नखेल्दासम्म ३ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । पराजित फुलहाम सबैभन्दा पुछारमा रहेको छ । आजै राति साबिक उपाधि विजेता लिभरपुलले आफ्नो पहिलो खेल खेल्दै छ ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १३:०३
Loading...