बार्सिलोनाले नयाँ सिजनका लागि तोक्यो कप्तान

एजेन्सी, भदौ २७
स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ सिजन २०२०–२१ का लागि आफ्ना कप्तान तोकेको छ । उसले नयाँ सिजनका लागि पनि पहिलो वरीयताको कप्तानमा लिओनल मेस्सीलाई नै निरन्तरता दिएको छ । आज क्लबले अफिसियल रूपमा कप्तानको वरीयता तोकेको हो ।

दोस्रो वरीयताका कप्तानमा मिडफिल्डर सर्जियो बुस्केट्स छन् । त्यसपछि तेस्रो वरीयताका कप्तान जेरार्ड पिके छन् भने चौथो वरीयताका कप्तानमा मिडफिल्डर सर्जी रोवेर्टो छन् । गत सिजन २०१९–२० मा पनि यी नै ४ जनालाई कप्तानको जिम्मेवारी दिइएको थियो ।

गत सिजन उपाधिमा जिरो भएपछि बार्सिलोनाले कमजोर प्रदर्शन र उमेर ढल्लेका थुप्रै खेलाडी बेच्ने तयारी गरेको चर्चा थियो । तर, क्लबले अफिसियल रूपमा बेच्ने सूचीमा रहेका खेलाडीलाई नै कप्तान तोकेपछि उनीहरू नयाँ सिजन पनि बार्सिलोनामै रहने पक्का भएको छ ।

यसअघि पिकेले त आफैं क्लबले युवा खेलाडी ल्याए सबैभन्दा पहिला आफूले क्लब छाड्ने घोषणा नै गरेका थिए । उनीबाहेक बुस्केट्स र रोवेर्टोलाई पनि क्लबले बेच्न चाहेको थियो । यता, मेस्सीले त क्लब छाड्ने निर्णय नै गरेका थिए । तर, अन्तिम समयमा उनले आफ्नो निर्णय फिर्ता लिँदै क्लबमा फर्किएका छन् ।

क्लबले कप्तानी भूमिकामा यसअघिकै खेलाडीलाई निरन्तरता दिएपछि बार्सिलोनाको नयाँ सिजनको टोलीमा पनि खास परिवर्तन नदेखिने भएको छ । नयाँ सिजन बार्सिलोनाको डिफेन्स पिकेकै कमान्डमा हुनेछ भने रोवेर्टो र बुस्केट्स पनि पहिलो रोजाइमै हुने पक्का भएको छ ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १२:४६
Loading...