मेस्सी क्लब फर्किएपछि कोएमानको पहिलो टिप्पणी

एजेन्सी, भदौ २७
स्पेनिस क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएमानले कप्तान लिओनल मेस्सीले क्लब छाड्ने निर्णय फिर्ता लिएर क्लबको गतिविधिमा सामेल भएपछि पहिलोपटक औपचािरक रूपमा धारणा राखेका छन् । बार्सिलोनाले प्रि–सिजनअन्तर्गत आज राति पहिलो खेल खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै डच म्यानेजरले मेस्सी आफ्नो टोलीमा रहनु उत्साहजनक हुने बताएका छन् ।

यसअघि मेस्सीले क्लब छाड्ने निर्णय गरेर घरमै बसेका बेला कोएमानले कलब छाड्ने निर्णय मेस्सीको रहेको भन्दै उनीबिना पनि आफूले आफ्नो काम गर्नुपर्ने बताएका थिए । त्यसबेला उनले एन्टोनी ग्रीजम्यानलाई आफूले नयाँ सिजनमा मुख्य भूमिका प्रस्तुत गर्ने धारणा सार्वजनिक रूपमै राखेका थिए । कोएमानकै योजनाअनुसार ग्रीजम्यानले ७ नम्बर जर्सी पनि पाइसकेका छन् ।

विभिन्न घटनाक्रमबीच मेस्सीले क्लब छाड्ने निर्णय फिर्ता लिएर टोलीमा फर्किएपछि कोएमानले मेस्सी टोलीमा रहनु धेरै राम्रो रहेको बताए । ‘लिओनल मेस्सीजस्ता खेलाडी टोलीमा रहनु धेरै राम्रो कुरा हो । उनी हामीसँग छन् । र, हामी मिलेर काम गर्नेछौं,’ कोएमानले भनेका छन् ।

कोएमानले मेस्सी नयाँ सिजनका लागि टोलीको हिस्सेदार हुनु सबैका लागि खुसीको कुरा रहेको पनि बताए । ‘मेस्सीले नयाँ सिजन पनि बार्सिलोनाबाट खेल्नु प्रशिक्षक, सहकर्मी मात्रै नभएर फ्यानहरूका लागि पनि उत्साह र खुसीको कुरा हो । किनभने, उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्,’ कोएमानले थपे ।

कोएमानले आफ्नो योजनामा मेस्सी सधैं महत्त्वपूर्ण भूमिकामा रहने पनि बताए । ‘नयाँ सिजन पनि उनी महत्त्वपूर्ण भूमिकामा हुनेछन् । किनभने, उनको क्षमताप्रति कुनै प्रश्नै छैन,’ कोएमानले भने, ‘उनले जति पनि खेल खेल्छन् उत्कृष्ट स्तरको प्रदर्शन दिनेमा म ढुक्क छु,’ कोएमानले भने ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार ०७:१२
Loading...