लिजेन्ड र समकालीन खेलाडीद्वारा रोनाल्डोलाई बधार्ईको ओइरो : कसले के भने ?

काठमाडौं, भदौ ३०
गत बुधबार अन्तर्राष्ट्रिय फुटबलमा १०० गोलको कीर्तिमानी कोसेढुंगा पूरा गरेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई लिजेन्ड तथा समकालीन खेलाडीहरूले बधाई दिएका छन् । रोनाल्डोले युइएफए नेसन्स लिगअन्तर्गत दोस्रो खेलमा स्वीडेनविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा १०० गोल पूरा गरेका थिए ।

पोर्चुगलले ०–२ ले जितेको सो खेलमा रोनाल्डो एक्लैले २ शानदार गोल गरेका थिए । उनले पहिलो हाफमा गरेको फ्रि किक गोल करिअरको १००औं अन्तर्राष्ट्रिय गोल थियो भने दोस्रो हाफमा १०१औं गोल पनि गरेका थिए । १०० गोल पूरा गरेसँगै ३५ वर्षका रोनाल्डो अब अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गर्ने एक मात्रै सक्रिय खेलाडी बनेका छन् भने समग्रमा दोस्रो ।

रोनाल्डोभन्दा अघि सर्वाधिक गोल गर्नेमा इरानका अली डेई छन् । अलीले १०९ गोल गरेका छन् । रोनाल्डो अब अलीको कीर्तिमानी रेकर्ड तोड्नबाट मात्रै ९ गोलले टाढा छन् । रोनाल्डोले यसै वर्षभित्रमा अलीको कीर्तिमान तोड्ने सम्भावना छ ।

१०० गोल पूरा गरेपछि रोनाल्डोलाई थुप्रै खेलाडीहरूले खुसी व्यक्त गर्दै बधाई दिएका छन् । बधाई दिनेमा फुटबल इतिहासका महान् खेलाडी पेलेदेखि विभिन्न समयमा रोनाल्डोसँगै खेलेका खेलाडी पनि छन् । रोनाल्डोलाई बधाई दिन लिजेन्ड तथा समकालीन खेलाडीहरूको भनाइ यहाँ राखिएको छ:

मैले आज १०० गोलको खुसीयाली मनाउन पाइन्छ होला भन्ने सोचेको थिएँ । तर, १०१ गोलको खुसी मिल्यो । बधाई छ, क्रिस्टियानो । अझै धेरै सफलता प्राप्त गर्दै जानू । –पेले, ब्राजिल

पोर्चुगलका लागि १०० गोल गरेका क्रिस्टियानोलाई हार्दिक बधाई छ । एक उत्कृष्ट खेलाडीले हाँसिल गरेको यो शानदार सफलता हो । शानदार गोल र शानदार रकर्ड । –ग्यारी लिंकर, इंग्ल्यान्ड

मलाई फुटबलले दिएको दाजुभाइको सम्बन्ध । म यहाँ राष्ट्रिय टोलीका लागि १०० गोलको बधाई दिन पाउँदा निकै खुसी छु । मलाई थाहा छ– राष्ट्रिय टोलीका लागि तिमीले गरेको मेहनत । यसलाई आगामी दिनमा पनि कायम राख्नेमा म आशावादी छु । –मार्सेलो, रियल मड्रिड तथा ब्राजिल

यो दुर्लभ सफलता तिमीजस्तो शानदार खेलाडीले राखेका छौ । कीर्तिमान तोड्न माहिर रोनाल्डो । यो एक अजंगको खेलाडीको करिअरमा सदाबहार क्षण हुनेछ । –डेको, पोर्चुगल

यो एक शानदार उपलब्धि हो, जुन तिम्रा लागि सामान्य चिज हो । मलाई यसले तिम्रो सहकर्मी हुँ भन्दा एकदमै ठूलो गर्वको अनुभूति दिन्छ । सबैभन्दा महान् खेलाडीको कथा । –नानी, ओर्लान्डो सिटी तथा पोर्चुगल

म तिमीलाई विशाल अंगालो पठाउन चाहन्छु । र, राष्ट्रिय टोलीमा १०० गोल पुगेकोमा बधाई दिन चाहन्छु । तिम्रो सहकर्मी हुन पाएकोमा म साँच्चै आनन्द र खुसी महसुस गर्छु । र, तिमी सबै पोर्चुगिजका लागि सबैभन्दा ठूलो गर्व हौ । –नुनो गोमेज, पोर्चुगल

१०० गोलको खेलाडी । यो योग्यभन्दा बढी हो । अद्भुत करिअर । महान् पेसेवर, महान् व्यक्ति । बधाई छ, यो क्षणको आनन्द लिनुहोस् । हामी सबैलाई खुसी दिँदै जानुहोस् । –रोवर्टो कार्लोस, ब्राजिल

१०० गोलको मानिस । (हाँस्दै) तिमी अझै मजस्तो सुन्दर छैनौं । सायद तिमी १० मध्ये ७ मा छौ । केही खेलाडीहरूले आफ्नो सिंगो करिअरमा १०० गोल प्राप्त गर्न सक्दैनन् । यो तिम्रो क्लब गोलहरूको बारेमा पनि होइन, यो केवल राष्ट्रिय टोलीका लागि हो । यो पागलपना हो ।’ –रियो फर्डिनान्ड, इंग्ल्यान्ड

क्रिस्टियानो रोनाल्डोले यस साता पोर्चुगिज टोलीमा १०० गोल पूरा गर्दै यो कोसेढुंगा पूरा गर्ने युरोपको एक मात्रै खेलाडी बने । उनी यसैका लागि जन्मिएका थिए, जो विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । –रिभाल्डो, ब्राजिल

म एक ठूलो क्लबमा थिएँ । र, ४० वर्षको नहुँदासम्म खेलें । र, म पनि उनलाई ४० वर्षसम्म सक्रिय रूपमा खेलेको हेर्न चाहन्छु, अहिलेकै जस्तो । उनी आफ्नो हेरचाह निकै राम्रोसँग गर्छन्– उनी सही खान्छन्, सही आराम गर्छन् र खेलका लागि बाँच्दछन् । र, उनी अहिलेका फुटबलको सबैभन्दा राम्रो पेसेवर मानिस हो । अन्तर्राष्ट्रिय फुटबलमा १०० गोलको इतिहासका लागि उनलाई लाख बधाई दिन चाहन्छु । उनले अझै धेरै गोल गर्नेछन् । –रायन गीग्स, वेल्स

मेरो प्रिय साथी, तिमी साँच्चै असाधारण छौं । १०० गोल एकदमै अद्भुत हो । तर, तिम्रा लागि यो सामान्य हुनसक्छ । किनभने, तिमी अझै धेरै गोल गर्न गइरहेका छौं । अघि बढ । तिमीलाई मेरो धेरै–धेरै माया र शुभकामना । –इकर क्यासिल्लास, स्पेन

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार ०६:५७
Loading...