बार्सिलोनामा ग्रीजम्यानलाई ७ नम्बर जर्सी

एजेन्सी, भदौ २७
स्पेनिस बार्सिलोनाका स्टार फरवार्ड एन्टोनी ग्रीजम्यानले नयाँ सिजनबाट नयाँ जर्सी लगाउने भएका छन् । क्लबले अफिसियल रूपमा फ्रेन्च फरवार्डलाई ७ नम्बर जर्सी प्रदान गरेको हो । यसअघि उनले १७ नम्बर जर्सी लगाउँदै आएका थिए । गत समर सिजनमा एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा बार्सिलोना पुगेका उनलाई सुरुआतमा १७ नम्बर जर्सी दिइएको थियो ।

तर, अब नयाँ सिजनबाट उनले ७ नम्बर जर्सी लगाउनेछन् । ग्रीजम्यानले यसअघि एथ्लेटिको र त्यसअघि रियल सोसिडाडामा छँदा पनि ७ नम्बर जर्सी नै लगाउँथे । यता, फ्रान्सको टोलीमा पनि उनले ७ नम्बर जर्सी लगाउँदै आएका छन् ।

यसअघि बार्सिलोनामा ७ नम्बर जर्सी फिलिपे कोउटिन्होले लगाउँथे । उनी गत सिजनका लागि लोनमा जर्मन क्लब बार्यन म्युनिख गएपछि सो जर्सी खाली थियो । तर, ब्राजिलियन कोउटिन्हो लोन अवधि पूरा गरेर बार्सिलोना फर्किएका छन् । उनको ७ नम्बर जर्सी ग्रीजम्यानलाई दिएपछि अब कोउटिन्होलाई क्लबले ८ नम्बर जर्सी दिने सम्भावना छ । सो जर्सी यसअघि पूर्वकप्तान तथा लिजेन्ड खेलाडी आन्द्रेस इनिएस्टाले लगाउँथे ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार ०५:५२
Loading...