लेवान्डोस्कीलाई उछिन्दै रोनाल्डो सर्वाधिक गोलकर्ता

काठमाडौं, भदौ २७
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो वर्ष २०२० को सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । उनले जर्मन क्लब बार्यन म्युनिख तथा पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीलाई पछि पार्दै वर्ष २०२० को सर्वाधिक गोलकर्ताको दौडमा अग्रता लिएका हुन् ।

केही दिनअघि युइएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले स्वीडेनलाई ०–२ ले हराउनेक्रममा रोनाल्डोले २ गोल गरेका थिए । उनले सोही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पनि पूरा गरेका थिए । सो खेलको २ गोल सँगै रोनाल्डोले यस वर्ष क्लब र देशका लागि गरी कूल २७ गोल गरेका छन्, जुन अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो ।

बार्यनका लेवान्डोस्कीले यस वर्ष हालसम्म कूल २५ गोल गरेका छन् । उनले यस वर्ष पोल्यान्डका लागि खेलेका छैनन् । उनले गरेका सबै गोल बार्यनका लागि गरेका हुन् । तर, पोर्चुगलका लागि २ गोल गरेपछि रोनाल्डोले लेवान्डोस्कीलाई २ गोलले पछि पारेका हुन् । यस वर्ष रोनाल्डोले हालसम्म कूल २६ खेल खेल्दै २७ गोल गरेका हुन् । उनले ४ गोलमा असिस्टसमेत गरेका छन् ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार ०४:५४
Loading...