आज बार्सिलोना र जिमनास्टिकको भिडन्त हुँदै

काठमाडौं, भदौ २७
स्पेनिस फुटबल क्लब बार्सिलोनाले आज प्रि–सिजनअन्तर्गत पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । यस खेलमा उसले स्पेनको दोस्रो डिभिजनको क्लब जिमनास्टिक डे टारागोनााको सामना गर्नेछ । खेल बार्सिलोनाको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १०ः४५ बजेबाट सुरु हुनेछ । खेल बार्सिलोनाको दोस्रो टिमको घरेलु मैदान जोन क्रुफ स्टेडियममा हुनेछ । यो खेल बार्सिलोनाको अफिसियल युट्युब च्यानल बार्सा टिभीबाट मात्रै लाइभ प्रशारण हुनेछ ।

नयाँ सिजनमा प्रवेश गर्नुअघि बार्सिलानाले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । आज जिम्नास्टिकसँग पहिलो खेल खेलेपछि दोस्रो खेल जिरोनासँग खेल्नेछ । त्यसपछि उसले ला लिगामा भिल्लारियलसँग खेल्दै नयाँ सिजनको औपचारिक सुरुआत गर्नेछ ।

आज हुने मैत्रीपूर्ण खेलमा कप्तान लिओनल मेस्सीले खेल्ने–नखेल्ने टुंगो छैन । खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै नयाँ प्रशिक्षक रोनाल्ड कोएमानले जिमनास्टिकविरुद्ध क–कसले खेल्ने भनेर टोलीको टुंगो लागिनसकेको बताए ।

प्रि–सिजनका खेल हुँदासम्म बार्सिलोनाले नयाँ सिजनअघि बेच्ने भनिएका धेरैजसो खेलाडी अहिलेसम्म टोलीमै रहेका छन् । लुइस स्वारेज, सर्जियो बुस्केट्स, सर्जी रोवेर्टो, जेरार्ड पिके, सामुएल उम्टिटी, जोर्डी अल्बालगायत उमेर ढल्केको खेलाडीलाई क्लबले बेच्ने चर्चा थियो । तर, यी सबै खेलाडीसहित बार्सिलोना नयाँ सिजनमा प्रवेश गर्ने देखिएको छ ।

गत सिजन उपाधिमा जिरो भएपछि नयाँ सिजनअघि टोलीमा व्यापक परिवर्तनको तयारीमा बार्सिलोना लागेको भनिए पनि उसले चाहेजस्तो र चर्चा भएजस्तो टोलीमा नयाँ र युवा खेलाडी भित्र्याउन ठोस कदम अहिलेसम्म चालेको छैन । यसको अर्थ बार्सिलोनामा नयाँ सिजनका लागि टोलीमा खास परिवर्तनको सम्भावना देखिएको छैन ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार ०१:४८
Loading...