रोनाल्डोले तोके फुटबलबाट सन्यास लिने समय

एजेन्सी, भदौ ३
हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अहिले पनि विश्व फुटबलमा सबैभन्दा फिट खेलाडीको सूचीमा पर्छन् । जबकि, उनी हाल ३४ वर्षका छन् । शारीरिक रूपमा सुगठित र ठीकठाक रहेका उनी अहिले पनि युवाझैं खेलिरहेका छन् ।

कतिपयले रोनाल्डोले फुटबलबटाट सन्यास लिने समयको दिनगन्ति गर्न सुरु गर्दैगर्दा रोनाल्डो स्वयंले भने आफूले अहिले नै सन्यास लिनेबारे नसोचेको बताएका छन् । त्यत्ति मात्रै हैन, उनले त आफू ४० वा ४१ वर्षको उमेरसम्म ठीकठाक खेल्न सक्ने पनि बताएका छन् ।

नयाँ सिजनको तयारीमा रहेका उनले हालै पोर्चुगिज टिभीसँगको एक विशेष कुराकानीक्रममा यस्तो बताएका छन् । सोक्रममा उनलाई फुटबलबाट सन्यास लिने समय र अवधिबारे सोधिएको थियो ।

‘म मेरो करिअर कहिलेबाट अन्त्य गर्नेछु भन्ने कुरा म अर्को वर्ष भन्न सक्छु । मलाई विश्वास छ, म ४० वा ४१ वर्षसम्म मज्जाले खेल्न सक्छु । म जतिसक्दो धेरै फुटबलसँग रहन र रमाउन चाहन्छु,’ रोनाल्डोले भने ।

रोनाल्डोले आफूले फुटबलबाट सन्यास लिँदा आफ्नो करिअरमा थुप्रै रेकर्ड बन्ने बताए । ‘के मेरोजत्तिको धेरै रेकर्ड भएका अन्य कोही खेलाडी छन् ? अहँ, मलाई त त्यस्तो लाग्दैन,’ रोनाल्डो दाबी गरे ।

प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार ०७:५७
Loading...