मेस्सीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय

एजेन्सी, भदौ २६
अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीमाथि लागेको अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध फुकुवा भएको छ । यससँगै उनले अब अर्को महिना सन् २०२२ को विश्वकप छनौटअन्तर्गत हुने इक्वेडरविरुद्धको खेल खेल्न पाउने भएका छन् ।

गत वर्ष २०१९ को जुलाई महिनामा ब्राजिलमा भएको कोपा अमेरिका फुटबलमा चिलीविरुद्धको खेल दौरान मेस्सीले रातो कार्ड पाएका थिए । तेस्रो स्थानका लागि चिली र अर्जेन्टिना खेल्नेक्रममा मेस्सी र चिलीका ग्यारी मेडेलबीच झडप भएको थियो । सो खेलपछि मेस्सीले दिएको अभिव्यक्तिका कारण उनी कारबाहीमा परेका थिए ।

दक्षिण अमेरिकी फुटबल महासंघलाई मेस्सीले ‘भ्रष्टाचारको अखडा’ रहेको भन्दै ‘ब्राजिललाई उपाधि जिताउन सेटिङ’ मिलाएको आरोप लगाएपछि महासंघले उनीमाथि अनुशासनको कारबाही गरेको थियो । संस्थामाथि नै आपत्तिजनक आरोप लगाएपछि मेस्सीको व्यवहारबाट कन्मेबल निकै गम्भीर बनेको थियो ।

त्यसपछि जरिमानासहित महासंघले मेस्सीलाई प्रतिस्पर्धात्मक खेलमा लागू हुने गरी एक खेलको प्रतिबन्धको फैसला गरेको थियो । यसअघि अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँग खेले पनि सो खेल मैत्रीपूर्ण भएकाले मेस्सीको प्रतिबन्ध लागू भएन । किनभने, उनको प्रतिबन्ध अफिसियल प्रतियोगितामा लागू हुने हो । मेस्सीमाथि लागेको एक अफिसियल खेलको प्रतिबन्ध फुकुवा गर्न अर्जेन्टिनाको फुटबल संघले महासंघ समक्ष अपिल गरेको थियो ।

हालै अर्जेन्टिनी संघका अध्यक्ष क्लाउडियो तापिओले महासंघबाट मेस्सीको प्रतिबन्ध फुकुवा भएको पत्र प्राप्त भएको पुष्टि गरेका छन् । संघले मेस्सीमाथिको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेको थियो । जसमा अर्जेन्टिनी संघको अपिल सुनुवाई गर्दै महासंघले मेस्सीको प्रतिबन्ध फुकुवा गरेको महासंघले पनि अफिसियल वेबसाइटमार्फत् जानकारी दिएको छ ।

अर्जेन्टिनाले विश्वकप छनौटअन्तर्गत आगामी अक्टोर ८ तारिखमा पहिलो खेल इक्वेडर र दोस्रो खेल अक्टोबर १३ मा बोलिभियासँग खेल्ने तालिका छ । अब मेस्सीले यी खेल खेल्न पाउनेछन् ।

प्रकाशित मिति २६ भाद्र २०७७, शुक्रबार १५:५४
Loading...