बिदाको दिन पनि मेस्सी प्रशिक्षणमा व्यस्त

काठमाडौं, भदौ २६
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी बिदाका दिन पनि प्रशिक्षणमा व्यस्त देखिएका छन् । बिहीबार टोलीका अन्य सबै खेलाडी बिदामा रहे पनि मेस्सी भने प्रशिक्षण क्याम्प पुगे । र, एक्लै प्रशिक्षणमा व्यस्त रहे ।

केही समयअघि क्लब छाड्ने निर्णय गरेर घरमै बसेका मेस्सी क्लब फर्किएपछि लगातार प्रशिक्षणमा छन् । उनी घरमा रहेका बेला अन्य खेलाडी भने लगातार प्रशिक्षणमा व्यस्त थिए । उनी अन्य सहकर्मीभन्दा एक साता ढिला प्रशिक्षणमा सामेल भएका थिए । च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग ८–२ ले पराजित भएपछि मेस्सीले क्लब छाड्ने निर्णय गरका थिए ।

तर, एक सातापछि नै उनले आफ्नो निर्णय फिर्ता लिँदै प्रशिक्षणमा फर्किए । उनले थप एक सजन आफू बार्सिलोनामा रहने बताएका छन् । मेस्सीले नयाँ सिजनका लागि फिट रहन बिदामा पनि प्रशिक्षण गरेका हुन् । बार्सिलोनाले शनिबार प्रि–सिजन मैत्रीपूर्ण खेलमा जम्यास्टिक डि टारागोनासँग खेल्दैछ । तर, सो खेलमा मेस्सीले खेल्ने निश्चित छैन ।

प्रकाशित मिति २६ भाद्र २०७७, शुक्रबार ०६:५४
Loading...