लिग वान : पिएसजी सिजनको पहिलो खेलमै हार्‍यो

काठमाडौं, भदौ २६
साबिक च्याम्पियन पिएसजी नयाँ सिजन २०२०–२१ अन्तर्गत घरेलु लिग वान फुटबलको पहिलो खेलमै स्तब्ध बनेको छ । गत राति भएको खेलमा लेन्सले पिएसजीलाई ०–१ गोलअन्तरले स्तब्ध बनायो । ७ जना प्रमुख खेलाडीबिनाको पिएसजीलाई घरेलु टोलीले साँघुरो अन्तरमा हराएर ३ अंक जोड्न सफल भयो ।

सिजनको पहिलो खेलमा पिएसजीको टोलीमा ७ जना प्रमुख खेलाडी थिएनन् । कोरोना भाइरसबाट संक्रमित भएका अधिकांश प्रमुख खेलाडीबिनै उत्रिएको पिएसजीले नयाँ सिजनको सुरुआत हारबाट गर्नु परेको हो । प्रमुख गोलकिपर केलर नाभास, फरवार्ड नेइमार, केलियन एमबाप्पे, माउरो इकार्डी, एन्जल डि माारिया, लियान्द्रो पाराडेससहितका खेलाडी कोरोनाका कारण टोलीबाहिर थिए ।

आफ्नो घरमा पिएसजीलाई स्तब्ध बनाउनेक्रममा लेन्सका इग्नाटियस गानागोले दोस्रो हाफको ५७औं मिनेटमा गरेको १ मात्रै गोल निर्णायक बन्यो । लेन्सले सो गोल पिएसजीका गोलकिपर मर्सिन बुल्काको गाल्तीका कारण गरेको थियो । अन्ततः सोही गोल जितका लागि निर्णायक बन्यो । लेन्सविरुद्ध पिएसजीले ७९ प्रतिशत बल आफ्नो पक्षमा राखे पनि खेलभरिमा मात्रै एक सट सही दिशाामा हानेको थियो ।

प्रकाशित मिति २६ भाद्र २०७७, शुक्रबार ०२:५७
Loading...