स्वारेजको सरुवामा ‘नयाँ ट्वीस्ट’ !

एजेन्सी, भदौ २५
नयाँ सिजनअघि नै सरुवा चर्चामा रहेका स्पेनिस बार्सिलोनाका फरवार्ड लुइस स्वारेजको सरुवामा नयाँ मोड आएको छ । इटालियन युभेन्टस जाने चर्को चर्चामा रहेका बेला ३३ वर्षीय उरुग्वेन फरवार्ड थप एक सिजन बार्सिलोनामै बस्ने सम्भावना बढेको छ । यस्तो रिपोर्ट स्पेनका अधिकांश मिडियाले छापेका छन् ।

कप्तान लिओनल मेस्सीले क्लब छाड्ने निर्णय गरेपछि स्वारेजलाई पनि क्लबले बेच्ने तयारी गरेको थियो । बढ्दो उमेर र खस्किँदो प्रदर्शनका कारण नयाँ प्रशिक्षक रोनाल्ड कोएमानले स्वारेजलाई नयाँ सिजन आफ्नो योजनामा नराख्ने बताएका थिए ।

तर, कप्तान मेस्सीले क्लब छाड्ने निर्णय बदलेर बार्सिलोनामै रहने भएपछि स्वारेजको सरुवा पनि नहुने सम्भावना बढेको हो । मेस्सी र स्वारेज दुवैको सम्झौता सिजन २०२०–२१ सम्मका लागि छ । मेस्सी कम्तीमा एक सिजन बार्सिलोनामै बस्ने भएपछि स्वारेजले पनि एक वर्ष बार्सिलोनामै बस्न चाहेका हुन् । अघिल्लो दिन मात्रै स्वारेजले सामाजिक सन्जालमा एक तस्बिर पोस्ट गर्दै आफ्नो सरुवा विषयका समाचार फेक रहेको बताएर बार्सिलोना नछाड्ने स्पष्ट पारिसकेका छन् ।

यो बताइएको छ कि, कप्तान मेस्सीले आफू बार्सिलोनामा रहँदासम्म आफ्ना खास मित्र रहेका स्वारेज पनि आफूसँगै रहून् भन्ने चाहेका छन् । मेस्सी र स्वारेजबीच मदानमा मात्रै नभएर बाहिर पनि निकै घनिष्ठ सम्बन्ध छ । लामो समयदेखि उनीहरूले टोलीको आक्रमण लाइन सम्हाल्दै आएका छन् ।

यसअघि मेस्सीले क्लब छाड्ने निर्णय लिएपछि मेस्सीबिना बार्सिलोनामा स्वारेजको भविष्य संकटमा पर्ने विश्लेषण गरिएको थियो । मेस्सीले क्लब छाडेको अवस्थामा स्वारेजले पनि छाड्न निश्चितजस्तै थियो । तर, मेस्सीले बार्सिलोनामै रहने निर्णयपछि र पछिल्लो समय विकसित घटनाक्रमअनुसार स्वारेज सरुवा अब नहुने देखिएको छ ।

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार १५:४८
Loading...