लिग वान : आज पिएसजी नयाँ सिजनको पहिलो खेल खेल्दै

काठमाडौं, भदौ २५
युरोपका टप–५ लिगमा सबैभन्दा चाँडो सुरु भएको फ्रान्सको लिग वान फुटबलमा आज साबिक च्याम्पियन पिएसजीले नयाँ सिजन २०२०–२१ को पहिलो खेल खेल्दै छ । अन्य केही टोलीले सुरुआतका दुई खेल खेलिसक्दा पिएसजीले आफ्नो पहलिो खेल आज राति आरसी लेन्ससँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि मोनाको, ओजिसी नाइस, बोर्डेक्स, रेनेज, लिले, नान्टेसहितका टोलीले आफ्ना सुरुआतका २ खेल खेलिकेका छन् । पिएसजी च्याम्पियन्स लिगको नकआउट चरण खेलेकाले खेलाडीलाई आराम दिन उसका सुरुआतका दुई खल स्थगित गरेर तेस्रो साताबाट मात्रै खेलाइन लागिएको हो ।

आज राति लेन्सको घरेलु मैदानमा सिजनको पहिलो खेल खेल्दा पिएसजीका धेरैजसो प्रमुख खेलाडी टोलीमा हुनेछैनन् । उसका प्रमुख फरवार्डहरू नेइमार, केलियन एमबाप्पे, माउरो इकार्डी, एन्जल डि मारियादेखि प्रमुख गोलकिपर केलर नाभाससहितका खेलाडी कोरोना भाइरसबाट संक्रमित भएकाले अहिले आइसोलेसनमा छन् । प्रशिक्षक थोमस टुचेलले उनीहरूबिनाकै टोली आज अवे मैदानमा उतार्नेछन् ।

अधिकांश प्रमुख खेलाडीबिनाको पिएसजीलाई आज अवे मैदानमा सिजनको पहिलो खेलमा ठूलो चुनौती हुनेछ । लेन्सले यसअघि आफ्नो पहिलो खेल हारेको छ । आज ऊ आफ्नो घरमा पिएसजीमाथि जित निकालेर लिगमा पहिलो अंक जोड्ने दाउमा छ ।

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार १४:०१
Loading...