युभेन्टस सरुवाको विषयलाई लिएर स्वारेज सामाजिक सन्जालमा उत्रिएपछि …..

एजेन्सी, भदौ २५
स्पेनिस बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएमानले टोलीका ३३ वर्षीय उरुग्वेन फरवार्ड लुइस स्वारेजलाई नयाँ सिजन आफ्नो टोलीको योजनामा नराखेको चर्चा छ । सो चर्चासँगै उनी इटालियन युभेन्टस जाने चर्चा सरुवा बजारमा छ । थुप्रै मिडिया रिपोर्टहरूले त स्वारेज र युभेन्टसबीच व्यक्तिगत सर्तहरूमा सहमति समेत भइसकेको खबर छापेका छन् । त्यस्तै, बार्सिलोनाले स्वारेजलाई ३ मिलियन युरोमा युभेन्टसलाई बेच्न सहमत भएको रिपोर्ट स्पेनबाटै प्रकाशित भएका छन् ।

तर, स्वारेज स्वयंले भने आफ्नो चर्चाको विषयमा आएका समाचार ‘फेक’ भन्दै खण्डन गरेका छन् । सामाजिक सन्जालमार्फत् उनले एक तस्बिर पोस्ट गर्दै सांकेतिक रूपमा आफू कतै पनि नजाने बताएका छन् । उनले आफ्नो विषयमा ‘फेक न्युज’ आएको पनि दाबी गरेका छन् ।

अघिल्लो दिन स्वारेजले बार्सिलोनाका लिओनल मेस्सीसहितका खेलाडीसँग सामूहिक प्रशिक्षण गरे । त्यसैबेलाको एक तस्बिर इन्स्टाग्रामको स्टोरीमा राख्दै स्वारेजले लेखेका छन्– ‘जब झुठो समाचार आउँछ …… म राम्रो छु ।’

प्रशिक्षण गर्दै गरेको तस्बिरमा यति लेखेका स्वारेजले आफ्नो सरुवा विषयका समाचार फेक रहेको बताएका छन् । उनको यो पोस्टबाट यो बुझ्न कठिन छैन कि, उनी बार्सिलोना छाडेर अहिले नै कतै जाँदै छैनन् ।

प्रकाशित मिति २५ भाद्र २०७७, बिहीबार ०६:४३
Loading...