ब्राजिलका कोही खेलाडी बार्सिलोना नजाऊन् : रोनाल्डो

एजेन्सी, भदौ ४
ब्राजिलका लिजेन्ड खेलाडी रोनाल्डोले स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन खेलाडीसँग जहिल्यै खराब व्यवहार गर्दै आएको बताएका छन् । विगतमा बार्सिलोनाबाट समेत व्यावसायिक फुटबल खेलेका उनले बार्सिलोना र ब्राजिलका खेलाडीबीच विगतबाटै राम्रो सम्बन्ध बन्न नसकेको बताए ।

हालै एक अन्तर्वार्तामा बोल्दै रोनाल्डोले रिभाल्डोदेखि कोउटिन्होसम्म आइपुग्दा घटनाक्रमले यो तथ्यलाई साबित गरेको बताए । रोनाल्डोले ब्राजिलका खेलाडी अन्तिम समयमा क्लबबाट जहिल्यै हेय र अपमानित हुँदै आएको आरोपसमेत लगाए ।

‘ब्राजिलका खेलाडीसँग बार्सिलोनाको जहिल्यै समस्या हुँदै आयो । र, छ । नेइमार, रिभाल्डो, रोमारियो, रोनाल्डिन्हो र मसँग यस्तै भयो । अहिले आएर कोउटिन्हो,’ रोनाल्डोले भने ।

क्लब छाड्ने बेला आफूहरूले प्रायः बार्सिलोनाबाट अपमानित हुनु परेको पनि रोनाल्डोले गुनासो गरे । ‘क्लब छाड्ने बेला हामी सबैको बिदाइ खराब तरिकाले भयो । त्यसबेला हाम्रा सबै योगदान र समर्पण क्लबले भुल्यो । यो सम्झिँदा ब्राजिलका कोही पनि खेलाडी बार्सिलोना नजाऊन् जस्तो लाग्छ,’ रोनाल्डोले थपे ।

रोनाल्डोले सन् १९९६–१९९७ सिजन बार्सिलोनाबाट खेलेका थिए । उनले एक सिजन बार्सिलोनाबाट खेल्दा ३७ खेलबाट ३४ गोल गरेका थिए । उनले पछि रियल मड्रिडबाट पाँच वर्ष खेले ।

बार्सिलोनाको व्यवस्थापकसँग सम्बन्ध बिग्रिएपछि रोनाल्डो एक सिजनपछि नै इटालियन क्लब इन्टर मिलान पुगेका थिए । त्यसपछि उनी रियल मड्रिडमा अनुबन्ध भए ।

प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार ०२:५९
Loading...