रोनाल्डोको कीर्तिमानी १०० गोलको ‘महायात्रा’ : तथ्यांकमा हेरौं

काठमाडौं, भदौ २४
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गर्दै नयाँ कीर्तिमान रचेका छन् । ३५ वर्षका रोनाल्डो अब अन्तर्राष्ट्रिय फुबटलमा १०० गोल पूरा गर्ने दोस्रो तथा एक मात्रै सक्रिय खेलाडी बनेका छन् । अर्थात्, यस समयमा खेलिरहेका खेलाडीमध्ये सबैभन्दा धेरै १०० गोल नघाउने रोनाल्डो एक्ला खेलाडी बनेका छन् । रोनाल्डोपछि दोस्रो स्थानमा सक्रिय सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता भारतका कप्तान सुनील क्षेत्री छन् । उनले हालसम्म भारतका लागि कूल ७२ गोल गरेका छन् ।

युइएफए नेसन्स लिग फुटबलको दोस्रो संस्करणअन्तर्गत पोर्चुगलले दोस्रो खेलका रूपमा गत राति स्वीडेनविरुद्ध खेलेको खेलमा रोनाल्डोले गोल गर्दै १०० गोलको आँकडा पूरा गरेका हुन् । रोनाल्डोले पहिलो हाफको अन्तिम समयमा फ्री किकबाट दर्शनीय गोल गर्दै १०० गोल पूरा गरेका हुन् । त्यसपछि उनले दोस्रो हाफमा अर्को शानदार गोल गरेपछि उनको कूल गोल संख्या १०१ पुग्यो ।

रोनाल्डोले गत वर्ष नै ९९ गोल गरेका थिए । तर, कोरोना भाइरसका कारण लामो समय अन्तर्राष्ट्रिय फुटबल नहुँदा उनले ऐतिहासिक १०० गोलका लागि करिब एक वर्ष नै प्रतीक्षा गर्नुपरेको हो । १०० गोल पूरा गरेपछि अहिले रोनाल्डोको चौतर्फी प्रशंसा भइरहेको छ ।

सन् २००३ मा पोर्चुगलका राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डोले कूल १६५ खेल खेलेर १०१ गोल गरेका छन् । उनका १०१ गोलमध्ये ८४ गोल सबै अफिसियल प्रतियोतिगामा गरेका छन् १७ गोल मैत्रीपूर्ण खेलमा गरेका गोल छन् । रोनाल्डो हालकै अवस्थामा पनि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै अफिसियल गोलकर्ता रेकर्ड होल्डर खेलाडी हुन् ।

अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गर्ने क्रममा रोनाल्डोले कूल ८ ह्याट्रिक गरेका छन् भने २८ खेलमा ब्रेस गोल (एक खेलमा २ गोल) गरेका छन् । रोनाल्डोको अन्तर्राष्ट्रिय गोलको ब्रेकडाउन तस्बिरमा हेरौं–

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार १४:१०
Loading...