बार्सिलोनालाई राहत : मेस्सी आंशिक प्रशिक्षणमा फर्किए

एजेन्सी, भदौ ३
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी ला लिगाको दोस्रो खेलका लागि फिट हुन कडा मेहनत गरिरहेका छन् । तीन हप्ताअघि प्रशिक्षणक्रममा घाइते भएका मेस्सी गत साताबाटै आंशिक्षक प्रशिक्षणमा व्यस्त छन् ।

आज अबेर मेस्सी स्वयंले सामाजिक सन्जाल इन्स्टाग्राममा आफूले एक्लै प्रशिक्षण गर्दै गरेको तस्बिर पोस्ट गरेर आफू चाँडै मैदान फर्किने संकेत दिएका छन् । उनले प्रशिक्षण क्याम्पमा दौडिरहेको एक तसिबर पोस्ट गर्दै आफू फिट हुन प्रयासरत रहेको सन्देश दिएका छन् ।

बार्सिलोनामा हाल मेस्सीपछि लुइस स्वारेज र उसामान डेम्बेले पनि घाइते छन् । तीनजना प्रमुख खेलाडी घाइते भएकोमा मेस्सी फिट भएर मैदान फर्किने सम्भावना बढेकाले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई राहत मिल्ने देखिन्छ ।

मेस्सी हाल आंशिक प्रशिक्षणमा मात्रै छन् । अर्थात्, उनी एक्लै प्रशिक्षण गरिरहेका छन् । तर, बुधबारदेखि उनी टिमसँगै प्रशिक्षणमा सामेल हुने सम्भावना छ ।

बार्सिलोनाले अगस्ट २५ मा ला लिगाको दोस्रो खेल आफ्नो घरमा रियल बेटिससँग खेल्दैछ । मेस्सी सो खेलबाट मैदान फर्किने सम्भावना बढेको छ । यसअघि बार्सिलोना खेलको ला लिगको पहिलो खेल एथ्लेटिक बिल्बाओसँग १–० ले हारेको थियो ।

प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार १६:५३
Loading...