१७ वर्षीय फातीका यी तीन रेकर्ड, जुन सजिलै तोडिने छैनन्

काठमाडौं, भदौ २७
स्पेनिस बार्सिलोनाका १७ वर्षका युवा फरवार्ड अन्सु फाती कलिलै उमेरमा विश्व फुटबलका लागि ‘हट केक’ बनेका छन् । सिजन २०१९–२० मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका उनले पहिलो सिजन नै गहिरो प्रभाव छाडे । बार्सिलोनाका त्यसताका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको माया पाएका फातीले लगातार ठूला खेलमा मौका पाए । र, पाएको समयमा आफूलाई साबित पनि गरे ।

गिनी बिसाउमा जन्मिए पनि सानैबाट स्पेनमा रहँदै आएका उनी बार्सिलोनाको एकेडेमीका उत्पादन हुन् । द्रुत गतिका फरवार्ड उनलाई बार्सिलोनामा ‘मेस्सीका उत्तराधिकारी’ भने चर्चा गर्ने गरिन्छ । बार्सिलोनाको सिनियर टोलीमा डेब्यु पाए पनि उनले पहिलो सिजन टिम ‘बी’मा रहेर प्रशिक्षकले बोलाएका बेला सिनियर टोलीबाट खेले । उनले पहिलो सिजन नै ३३ खेलमा मौका पाए । सो दौरान उनले ८ गोल गरे ।

ला लिगामा उनले २७ खेल खेल्दै ७ गोल गरे भने युरोपियन च्याम्पियन्स लिगमा पनि ५ खेलबाट १ गोल गरे । पहिलो सिजन नै उनले यी दुवै प्रतियोगितामा गोल गरेर आफ्नो डेब्युलाई ऐतिहासिक बनाए ।

दोस्रो रोजाइमा रहेर पहिलो सिजन खेल्नेक्रममा उनले कप्तान लिओनल मेस्सी, लुइस स्वारेजसँग खेल्ने मौका पाए । उनले बार्सिलोनाका लागि केही खेलमा महत्त्वपूर्ण गोलसमेत गरे । यसबाहेक उनले ला लिगा, च्यापियन्स लिगमा केही रेकर्ड बनाए । कलिलै उमेरमा उत्कृष्ट प्रदर्शन गरेका उनी अहिले नै एक स्टार खेलाडीका रूपमा दर्ज भइसकेका छन् ।

यता, यसै वर्षबाट फातीलाई स्पेनको राष्ट्रिय टोलीमा पनि डाकियो । युइएफए नेसन्स लिगबाट उनले स्पेनको राष्ट्रिय टोलीमा समेत डेब्यु गरिसकेका छन् । प्रशिक्षक लुइस इनरिकेले फातीलाई राष्ट्रिय टोलीमा डेब्यु गराएर उनलाई करिअरको अर्को महत्त्वपूर्ण चरणमा उभ्याइदिएका छन् ।

गत सोमबार मात्रै स्पेनले नेसन्स लिगको दोस्रो खेलमा युक्रेनलाई ४–० ले हराउनेक्रममा फातीले १ गोल गरे । पहिलोपटक सुरुआती टोलीमा परेका उनले गरेको सो गोल कीर्तिमानी थियो । उनले स्पेनका लागि दोस्रो खेल खेल्नक्रममा नै गोल गरे । त्यसअघि पहिलो खेलमा भने उनलाई बेन्चबाट खेलाइएको थियो । यहाँ फातीले बनाएका तीन प्रमुख रेकर्डबारे चर्चा गरिएको छ ।

रेकर्ड–१

फातीले सिजन २०१९–२० मा ला लिगामा डेब्यु मात्रै गरेनन्, ७ गोल पनि गरे । सोही सिजन गरेको पहिलो गोलले उनलाई बार्सिलोनाको इतिहासमा ला लिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनायो । उनले २०१९ को अगस्ट ३१ मा ओसासुनाविरुद्ध गरेको गोल पहिलो लिग गोल थियो । उनले मात्रै १६ वर्षको उमेरमा सो गोल गरेका थिए ।

रेकर्ड– २

गत सिजन नै फातीले च्याम्पियन्स लिगमा पनि रेकर्ड बनाए । युरोपको सबैभन्दा ठूलो प्रतियोगितामा डेब्यु गरेको सिजन नै गोल गर्दै उनी सो प्रतियोगिताको इतिहासकै सबैभन्दा कान्छा गोलकर्ता खेलाडी बने । गत सिजनको डिसेम्बर १० तारिखमा समूह चरणअन्तर्गत इटालियन क्लब इन्टर मिलानविरुद्ध गोल गरेर फातीले यस्तो रेकर्ड बनाएका थिए । त्यसबेला उनको उमेर १७ वर्ष ४० दिनको थियो ।

रेकर्ड–३

अन्तर्राष्ट्रिय फुटबलमा पनि फातीले रेकर्ड बनाएका छन् । यसै वर्ष स्पेनको राष्ट्रिय टोलीमा डेब्यु पाएका उनले गत सोमबार नेसन्स लिगअन्तर्गत युक्रेनविरुद्ध गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलका गोलको खाता खोले । सो गोलपछि उनी स्पेनको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने । उनले आफ्नो उमेर १७ वर्ष ३११ दिन पुग्दा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

९५ वर्षअघि स्पेनका लागि जाउन इराजक्विनले १८ वर्षको उमेरमा गोल गरेर कान्छा गोलकर्ताको रेकर्ड बनाएका थिए । तर, फातीले ९५ वर्षपछि इराजक्विनको भन्दा कम उमेरमा गोल गरेर स्पेनका लागि सबैभन्दा कान्छा गोलकर्ता खेलाडी बने ।

प्रकाशित मिति २७ भाद्र २०७७, शनिबार १२:३२
Loading...