मेस्सीबारे टोनी क्रुसको रोचक टिप्पणी

एजेन्सी, भदौ २३
जर्मनी तथा स्पेनिस रियल मड्रिडका प्ले मेकर टोनी क्रुसले आफ्ना खास प्रतिस्पर्धी अर्जेन्टिना तथा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीको विषयमा धारणा राखेका छन् । हालै अन्तर्राष्ट्रिय ड्युटी सकाएर स्पेन फर्किनेक्रममा उनले ‘टिवाईसी स्पोर्ट्स’सँग कुरा गर्दै मेस्सी एक उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

साथै, पत्रकारले मेस्सी विगतमा रियल मड्रिडमा सरुवा हुने कुरा चलेको विषयमा क्रुसले रोचक धारणा राखे । मेस्सीको तारिफ गर्दै क्रुसले भनेका छन्, ‘अवश्य पनि, उनी एक अद्भुत खेलाडी हुन्, उत्कृष्टमध्येका एक । बार्सिलोना र अर्जेन्टिना दुवैका लागि उनले उल्लेख्य गरेका छन् । उनीप्रति मेरो सधैं उच्च सम्मान छ ।’

पत्रकारले ‘कुनै बेला रियल मड्रिडले मेस्सी भित्र्याउन चाहेको चर्चा थियो । यसमा कति सत्यता छ ?’ भनेर सोधेको प्रश्नमा क्रुसले रमाइलो गरी जवाफ दिए । उनले हाँस्दै भने–

‘सायद तपाईं मलाई काल्पनिक प्रश्न गर्दै हुनुहुन्छ । किनभने, तपाईंले भनेजस्तो मलाई पटक्कै लाग्दैन । मेस्सीजस्ता खेलाडीलाई सबै क्लबले चाहन्छन् । तर, रियल मड्रिडले उनलाई चाहेको थियो भन्नेमा म विश्वास गर्दिनँ । किनभने, उनी बार्सिलोनाका लागि जन्मिएका खेलाडी हुन् । यो एक बजारु चर्चा थियो होला । तर, मलाई चाहिँ व्यक्तिगत रूपमा उनले रियलका खेल्ने कुरा सम्भव थियो भन्ने लाग्दैन । मैले त आजसम्म मेस्सीले रियलका लागि खेलेको कुरा सपनामा समेत देखेको छैन …… ।’

क्रुसले आफ्नो ध्यान अब नयाँ सिजनमा केन्द्रित हुने बताए । ‘अन्तर्राष्ट्रिय ब्रेक सकियो । म मड्रिड जाँदैछु । अब मेरो मेरो टिमको ध्यान नयाँ सिजनमा हुनेछ । हामी नयाँ सिजनलाई गत सिजनभन्दा अझै राम्रो बनाउनेछौं । हामी उत्साहित छौं,’ क्रुसले भने, ‘सधैंझैं हामी यसपटक पनि सबै उपाधिका लागि लड्नेछौं । हामी मान्छौं कि, गत सिजनभन्दा यसपटक हामी अझै बलियो अवस्थामा छौं ।’

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार १३:४१
Loading...