बार्सिलोनाको ‘फरवार्ड लाइन’ चोटले थलियो : के गर्लान् भाल्भर्डेले ?

एजेन्सी, भदौ ३
नयाँ सिजन सुरु भएसँगै स्पेनिस बार्सिलोना यतिबेला खेलाडीको चोटले थलिएको छ । लगातार टोलीका प्रमुख खेलाडी एकपछि अर्को गर्दै घाइते भएपछि प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई नयाँ सिजनको सुरुआतमै तनाव बढेको छ ।

केही समयअघि अन्तर्राष्ट्रिय ड्युटी र बिदा सकाएर बार्सिलोना फर्किएका कप्तान लिओनल मेस्सी प्रशिक्षण क्याम्प फर्किएकै दिन घाइते भए । क्लब फर्किएपछि उनले प्रि–सिजनका दुई र ला लिगाको पहिलो खेल गुमाए । अझै पनि उनी मैदान फर्किने दिनको टुंगो छैन ।

उनीपछि अर्का स्टार फरवार्ड लुइस स्वारेज पनि घाइते भएका छन् । ला लिगाको उद्घाटन खेल खेल्नेक्रममा घाइते भएका स्वारेज कम्तीमा ६ हप्ता मैदानबाहिर रहनेछन् । उनले ला लिगाका आगामी दिन खेल गुमाउने पक्का छ ।

स्वारेजपछि टोलीका अर्का प्रमुख विंगर उसामान डेम्बेले प्रशिक्षणक्रममै घाइते भए । अघिल्लो दिन हार्मस्ट्रिङबाट पीडित बनेका उनी कम्तीमा पाँच हप्ता मैदानबाहिर रहने क्लबले पुष्टि गरेको छ ।

नयाँ सिजन सुरु भएसँगै टोलीका तीन प्रमुख खेलाडी घाइते भएपछि प्रशिक्षक भाल्भर्डेलाई अहिले आगामी खेलहरूमा आक्रमण पंक्ति कसरी बनाउने भन्ने चिन्ताले पिरोल्ने पक्का छ । कप्तान मेस्सी आगामी खेलबाट टोेलीमा फर्किने सम्भावना रहे पनि उनी पनि पूर्ण रूपमा फिट हुनेमा आशंका छँदैछ ।

अन्य खेलाडीसमेत घाइते भएका बेला मेस्सी मैदान फर्किए पनि उनी थप चोटको जोखिममा हुने नै छन् । यसअघि भाल्भर्डेले आफूले मेस्सी शतप्रतिशत फिट नभई नखेलाउने बताउँदै आएका थिए । तर, अब भने भाल्भर्डेसँग मेस्सीलाई नखेलाउनुको विकल्प छैन ।

बार्सिलोनाले हालै ब्राजिलियन फिलिपे कोउटिन्होलाई लोनमा बार्यन म्युनिख पठाएकाले आक्रमणमा क्षमता राख्ने खेलाडीको अभाव छ । यदि उनी टोलीमै थिए भने उनी यो संकटमा विकल्प बन्न सक्थे ।

अहिले ठीकठाक अवस्थामा भनेको नयाँ फरवार्ड एन्टोनी ग्रीजम्यान मात्रै छन् । तर, उनी लयमा छैनन् । उनले बार्सिलोनाका लागि ५ खेल खेलिसक्दा जम्मा १ गोल मात्रै गरेका छन् । उनले उत्कृष्ट लय समात्न नसक्दा बार्सिलोनामा अहिले गोलको खडेरी छ ।

बार्सिलोनाले यसअघि ला लिगाको पहिलो खेलमा एथ्लेटिक बिल्बाओसँग ०–१ ले हारिसकेको छ । तसर्थ, बार्सिलोनामाथि लिगको पहिलो खेलबाटै दबाब बढेका छ । तर, यही बेला प्रमुख खेलाडीहरूको चोटले थप समस्या बढाएको छ ।

ला लिगामा बार्सिलोना अहिले अंकविहीन हुँदै १५औं स्थानमा छ । उसले आगामी खेल अगस्ट २५ मा आफ्नो घरमा रियल बेटिससँग खेल्दैछ । बार्सिलोनाका लागि सो खेल पनि चुनौतीपूर्ण हुने पक्का छ ।

प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार १५:४३
Loading...