कीर्तिमानी महँगा रोड्रिग्वेजलाई रियल मड्रिडले सस्तैमा बेच्यो

एजेन्सी, भदौ २३
स्पेनिस रियल मड्रिडका स्टार मिडफिल्डर हामेस रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्ध भएका छन् । कार्लेस एन्सेलोट्टीको जोडबलमा २९ वर्षका कोलम्बियन मिडफिल्डर एभर्टनमा पुगेका हुन् । एभर्टनले रियललाई रोड्रिग्वेज अनुबन्धका लागि सरुवा फीबापत निकै कम २२ मिलियन युरो मात्रै तिर्नेछ ।

सन् २०१४ मा रियलमा कीर्तिमानी ८० मिलियन युरोमा अनुबन्ध भएका रोड्रिग्वेज पछिल्ला वर्ष रियलमा फ्रेन्च कोच जिनेदिन जिदानको कमान्डमा खेल्न नपाएपछि निराश थिए । उनले जर्मन क्लब बार्यन म्युनिखमा दुई सिजन लोनमा समेत खेले । तर, लोन अवधि सकिएपछि उनी पुनः रियल फर्किए पनि जिदानले उनलाई खेल्नै दिएनन् ।

करिअरको सबैभन्दा सक्रिय समयमा खेल्न नपाएपछि निराश बन्दै आएका रोड्रिग्वेजलाई एन्सेलोट्टीले अनुबन्ध गरे । इटालियन एन्लेसेलोट्टीले यसअघि रोड्रिग्वेजसँग रियल मड्रिडमा सुरुआतमै काम गरिसकेका छन् । त्यसपछि रोड्रिग्वेज लोनमा बार्यन रहेका बेला त्यहाँ पनि प्रशिक्षक एन्सेलोट्टी नै प्रशिक्षक थिए । गत समरमै उनी इटालियन नापोलीमा छँदा नै रोड्रिग्वेजलाई भित्र्याउन चाहेका थिए ।

तर, त्यसबेला रियलले नमान्दा रोड्रिग्वेजको सरुवा भएन । यसपटक भने रियलले रोड्रिग्वेजलाई बेच्यो । अब रोड्रिग्वेजले आफूलाई माया गर्ने कोच एन्सेलोट्टीसँग तीन फरक–फरक क्लबबाट काम गर्ने भएका छन् । एन्सेलोट्टी सन् २०१३–१५ सम्म रियल मड्रिडमा प्रमुख प्रशिक्षक रहँदा उनकै योजनाअनुसार रियलले रोड्रिग्वेजलाई २०१४ को विश्वकपपछि भित्र्याएको थियो । रोड्रिग्वेज २०१४ को विश्वकपको कगोल्डेन बुट विजेता हुन् ।

रियल मड्रिडमा ६ सिजन बिताउनेक्रममा रोड्रिग्वेजले कूल १२५ खेल खेल्दै ३७ गोल गरे । अस्ति भर्खर सकिएको सिजनमा उनले १४ खेलबाट मात्रै १ गोल गरे । अब एभर्टनमा रोड्रिग्वेजले एन्सेलोट्टीको योजनामा टोलीमा प्रमुख भूमिका पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ०८:१७
Loading...