नर्वेको फराकिलो जितमा चम्किए हल्यान्ड

काठमाडौं, भदौ २३
युइएफए नेसन्स लिग फुटबलमा नर्वेले फराकिलो जित दर्ता गरेको छ । गत राति भएको समूह चरणको दोस्रो खेलमा नर्वेले नर्दन आयरल्यान्डलाई उसकै घरमा १–५ को हार चखाएको हो । यससँगै नर्वेले प्रतियोगितामा पहिलो जितसमेत दर्ता गरेको छ ।

नर्वेलाई जिताउन युवा स्टार अर्लिङ हल्यान्ड र एलेक्जान्डर स्वरलोथ नायक बने । उनीहरूले समान २–२ गोल गरे । नर्वेका लागि खेल सुरु भएको दोस्रो मिनेटमै मोहामेद इलयोनोउस्सीले पहिलो गोल गरेका थिए । त्यसको ४ मिनेटमै आयरल्यान्डका लागि प्याड्डी म्याकनेरले बराबरी गोल फर्काए पनि त्यसपछि नर्वे लगातार हाबी भयो ।

बराबरी गोल खाएको अर्को मिनेटमै नर्वेका लागि हल्यान्डले गोल गरेर टिमलाई १–२ को अग्रता दिलाए । त्यसपछि १९औं मिनेटमा स्वरलोथले पहिलो गोल गरेपछि पहिलो हाफमा नर्वे १–३ ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै स्वरलथले व्यक्तिगत दोस्रो गोल गर्दा नर्वेले १–४ को सहज फराकिलो अग्रता बनायो । फेरि खेलको ५८औं मिनेटमा हल्यान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल नर्वेले १–५ ले जित्यो ।

अब यो जितसँगै नर्वेेले दुई खेलमा एक हार र एक जितसहित ३ अंक जोड्दै तेस्रो स्थानमा छ । ४ अंक भएको रोमानिया पहिलो स्थानमा छ भने ३ अंक भएको अस्ट्रिया दोस्रो स्थानमा छ ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ०४:३८
Loading...