इटालीले नेदरल्यान्ड्सलाई उसकै घरमा हरायो

काठमाडौं, भदौ २३
युइएफए नेसन्स लिग फुटबलमा इटालीले पहिलो जित दर्ता गरेको छ । गत राति भएको समूह चरणको दोस्रो खेलमा इटालीले बलियो टोली नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा ०–१ गोलले स्तब्ध बनायो । यससँगै इटालीले यस प्रतियोगितामा पहिलो जितसमेत निकालेको छ ।

नेदरल्यान्ड्सविरुद्ध उसकै भूमिमा चर्को दबाब बनाएर खेलेको इटालीले खेलभरि नै पकड जमाइराख्यो । खेलमा लगातार आक्रमण बुनेको इटालीका लागि पहिलो हाफको इन्जरी समयमा निकोलो बारेल्लाले गरेको १ मात्रै गोल पाहुना टोलीलाई जिताउन निर्णायक बन्यो । सिरो इम्मोबिलेले बक्समा दिएको हाई पासमा बारेल्लाले निकै सुन्दर हेडिङ गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसकेपछि इटालीले सोही १ गोलको अग्रता जोगाएर खेल ०–१ ले जित्यो । खेलमा इटालीले कूल १८ पटक आक्रमण बुन्दा ४ पटक सही दिशामा हानेको थियो । घरलु टोली नेदरल्यान्ड्सले कूल ११ पटक आक्रमण बुन्दा ३ पटक सही दिशामा हानेकोे थियो ।

अब यो जितसँगै इटाली लिग ए–ग्रुप १ को शीर्ष स्थानमा चढेको छ । उसले दुई खेलबाट ४ अंक जोडेको छ । पराजित नेदरल्यान्ड्स ३ अंकसहित दोस्रो स्थानमा छ । यता, गत राति नै आफ्नो खेलमा बोस्निया एन्ड हर्जागोभिनालाई उसकै घमा हराएको पोल्यान्डले पनि ३ अंक जोड्दै दोस्रो स्थानमा छ । पराजित बोस्निया मात्रै १ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार ०२:५१
Loading...