१७ वर्षका फातीले तोडे ९५ वर्ष पुरानो रेकर्ड

एजेन्सी, भदौ २२
स्पेनको राष्ट्रिय टोलीका युवा फरवार्ड अन्सु फातीले १७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमान बनाएका छन् । गिनी बिसाउमा जन्मिएर स्पेनिस नागरिकको हैसियतमा त्यहाँको राष्ट्रिय टोलीबाट खेलिरहेका फाती अब स्पेनको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।

उनले आफ्नो उमेर दिनगन्तिका हिसाबले १७ वर्ष ३११ दिनको उमेरमा पहिलो अन्तर्राष्ट्रिय गोल हाने, जुन कीर्तिमानी बन्यो । यसअघि स्पेनको इतिहासमा कुनै पनि खेलाडीले यति कम उमेरमै राष्ट्रिय टोलीका लागि गोल गरेका थिएनन् ।

गत राति युइएफए नेसन्स लिग फुटबलमा स्पेनले युक्रेनलाई आफ्नो भूमिमा ४–० ले हराउनेक्रममा फातीले पहिलो हाफमा १ गोल गरेका थिए । उनले खेलको ३२औं मिनेटमा बक्स बाहिरबाट शक्तिशाली प्रहारमा निकै सुन्दर गोल गरेका थिए । सो गोलले उनका नाममा इतिहास रच्यो ।

सो गोल गर्नुअघि पनि फातीले एक गोलको अवसर पाएका थिए । बक्स भित्रबाट उनले हानेको सुन्दर बाइसाइकल किक सट युक्रेनका डिफेन्डरले पोस्ट नजिकै रोकेर फातीलाई निराश पारिदिएका थिए । तर, ३२औं मिनेटमा फातीले बललाई जाली चुमाएरै छाडे ।

यसअघि स्पेनको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रेकर्ड जाउन इराजक्विनका नाममा थियो । उनले सन् १९२५ को जुन १ मा स्वीट्जरल्यान्डविरुद्धको खेलमा गोल गरेका थिए । त्यसबेला उनको उमेर १८ वर्ष ३४४ दिनको थियो । उनले पहिलो गोल गरेकै खेलमा ह्याट्रिक हानेका थिए ।

तर, अब उनको ९५ वर्ष पुरानो रेकर्ड फातीले भंग गर्दै आफ्नो नाममा लेखाउन सफल भएका छन् । फातीले यसै प्रतियोगितामार्फत् स्पेनको टोलीमा डेब्यु गरेका हुन् । उनले दुई खेलबाट १ गोल गरे । यसअघि उनले जर्मनीविरुद्ध खेले पनि गोल गर्न सकेका थिएनन् । सो खेलमा उनलाई बेन्चबाट मैदान छिराइएको थियो । गत राति उनलाई सुरुआतमै मैदान उतारिएको थियो ।

प्रशिक्षक लुइस इनरिकेले खेलपछि फातीको कीर्तिमानी गोलमा प्रतिक्रिया दिए । ‘उनलाई केही नयाँ गर्न बढी समय आवश्यक थियो । त्यसैले आज मैले उनलाई सुरुआतमै राखें । उनी एक क्षमतावान् खेलाडी हुन् । उनले आज राम्रो मात्रै खेलेनन्, एक सुन्दर गोल गरेर इतिहास पनि रचे । म उनलाई बधाई दिन चाहन्छु । उनले अझैं धेरै कुरा गर्न र सिक्न बाँकी छ,’ खेलपछि इनरिकेले भने ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार ०५:००
Loading...