नेसन्स लिग : स्वीट्जरल्यान्ड र जर्मनी बराबरीमा रोकिए

काठमाडौं, भदौ २२
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा स्वीट्जरल्यान्ड र जर्मनी आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएका छन् । गत राति भएको समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्यान्डले आफ्नो भूमिमा पछि परेको अवस्थामा गोल गर्दै बलियो टोली जर्मनीलाई १–१ को बराबरीमा राकेको हो ।

आफ्नो भूमिमा स्वीट्जरल्यान्ड खेलको १४औं मिनेटमा गोल खाएर पछि परेको थियो । सो गोल इकाई गुन्डोगानले गरेका थिए । सो गोलको मदतमा जर्मनीले पहिलो हाफमा ०–१ को अग्रता बनायो ।

तर, दोस्रो हाफमा घरेलु टोली स्वीट्जरल्यान्ड खेलमा फर्कियो । खेलको ५७औं मिनेटमा सिल्भान विडमेरले गोल गरेपछि खेल १–१ को बराबरीमा आइपुग्यो । सो गोलपछि बाँकी समयमा दुवै टोलीबाट गोल भएन । र, खेल १–१ को बराबरीमा टुंगियो ।

आफ्नो घरमा स्वीट्जरल्यान्डले जर्मनीमाथि चर्को दबाब बनाएर खेले पनि विजयी गोल गर्न सकेन । स्वीट्जरल्यान्डले जर्मनीविद्ध कूल २० पटक आक्रमण गर्दा ६ पटक सही दिशामा हानेको थियो । यता, जर्मनीले भने स्वीट्जल्यान्डविरुद्ध १४ आक्रमण गर्दा ४ पटक मात्रै सही दिशामा हानेको थियो ।

अब यो बराबरीपछि दुवै टोलीले १–१ अंक बाँडेका छन् । समूह ‘डी’ अन्तर्गत स्पेन ४ अंकसहित शीर्ष स्थानमा रहँदा युक्रेन ३ अंकसहित दोस्रोमा छ । जर्मनी २ अंकसहित तेस्रो स्थानमा रहँदा स्वीट्जरल्यान्ड १ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार ०२:२३
Loading...