रामोस चम्किँदा युक्रेनमाथि स्पेनको शानदार जित : अन्सु फातीले खोले खाता

काठमाडौं, भदौ २२
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा स्पेनले युक्रेनमाथि शानदार जित निकालेको छ । गत राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले आफ्नो भूमिमा पाहुना टोली युक्रेनलाई ४–० ले हरायो । युक्रेनको जितमा कप्तान सर्जियो रामोस नायक बने । उनले २ गोल गरे । त्यसैगरी, युवा खेलाडी अन्सु फातीले यसै खेलबाट अन्तर्राष्ट्रिय मञ्चमा पहिलो गोल गरे ।

आफ्नो घरमा स्पेनले खेलको तेस्रो मिनेटमै पेनाल्टी गोलबाट अग्रता लिएको थियो । बक्समा बल लिएर अघि बढिरहेका अन्सु फातीलाई युक्रेनका खेलाडीले फउल गरेर लडाएपछि पाएको पेनाल्टीमा कप्तान रामोसले गोल गर्दै खेल १–० बनाए ।

त्यसपछि खेलको २९औं मिनेटमा रामोसले नै हेडिङमार्फत् सुन्दर गोल गरे । बक्समा भएको आकासे पासमा उनले निकै कठिन गरी गरेको हेडिङ बललाई युक्रेनका किपरले रोक्ने मौका नै पाएनन् ।

फेरि त्यसको ३ मिनेटपछि नै स्पेनका लागि फातीले गोल गरे । उनले बक्स बाहिरबाट सुन्दर गोल गरेका थिए । पोस्टको तल्लो बार च्याप्दै उनले हानेको कडा प्रहारले जाली चुम्दा उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् । उनले दोस्रो खेलबाट गोलको खाता खोल्न सफल भए ।
पहिलो हाफमा ३–० को सहज अग्रता बनाएको स्पेनले चौथो गोल भने खेलको ८४औं मिनेटमा मात्रै हान्यो । यसपटक फेर्रान टोरेजले गोल गरेपछि खेल स्पेनले एकपक्षीय रूपमा ४–० ले जित्यो ।

अब यो जितपछि २ खेलबाट ४ अंक जोडेको स्पेन लिग ए समूह ४ को शीर्ष स्थानमा रहेको छ । पराजित युक्रेन ३ अंकसहित दोस्रो स्थानमा छ । जर्मनी २ अंकसहित तेस्रो स्थानमा छ भने स्वीट्जरल्यान्ड १ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार ०१:५१
Loading...