भिडालले बार्सिलोनालाई १ अर्ब १० करोड रुपैयाँ छाडिदिने !

एजेन्सी, भदौ २३
स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ सिजनअघि नै आफ्ना चिलियन मिडफिल्डर अर्टुरो भिडाललाई बेच्ने करिब–करिब पक्का छ । ३३ वर्षका अट्याकिङ मिडफिल्डर भिडाल इटालियन क्लब इन्टर मिलानसँग जोडिएका छन् । उनी दुई वर्षअघि जर्मन क्लब बार्यन म्युनिखबाट बार्सिलोना पुगेका थिए ।

बार्सिलोनासँग एक सिजन सम्झौता अवधि बाँकी छँदै बार्सिलोनाले एकपक्षीय रूपमा भिडाललाई बेच्न लागेको हो । त्यसका लागि बार्सिलोनाले भिडालसँगको सम्झौता एकपक्षीय रूपमा खारेज गर्दैछ । नयाँ प्रशिक्षक रोनाल्ड कोएमानले भिडाललाई नयाँ सिजन योजनामा नराखेपछि भिडालको बिदाइ पक्का हुने भएको हो ।

केही समयअघि मात्रै भिडालले आफू बार्सिलोनामै रहने मात्रै बताएका थिएनन्, नयाँ सिजन आफूले बार्सिलोनालाई ट्रिबेल उपाधि जिताउन सघाउने समेत बताएका थिए । तर, बार्सिलोनाले उनकै कोठा खाली गरिदिने भएपछि भिडाल निराश छन् । अब भिडालले ट्रिबेल उपाधि अर्कै क्लबबाट जित्नुपर्नेछ ।

सम्झौताअनुसार बार्सिलोनासँग भिडालको समझौता अझै एक वर्ष बाँकी नै छ । यस्तो अवस्थामा दुई पक्षको सहमतिबिना यदि क्लबले एकपक्षीय रूपमा खेलाडीलाई जाऊ भन्छ भने उसले सम्झौताअनुसार विभिन्न शीर्षकमा खेलाडीलाई पैसा तिर्नुपर्छ । बाँकी रहेको सम्झौता अवधिमा ती खेलाडीले पाउने तलब, बोनस भत्ताजस्ता शीर्षकमा खेलाडीले रकम पाउँछन्, जुन कानुनी रूपमा पनि खेलाडीले प्राप्त गर्न सक्छन् ।

तर, भिडालले बार्सिलोनाबाट जाँदाजाँदै बाँकी रहेको आफ्नो सम्झौता अवधिको रकम दाबी नगर्ने भएका छन् । बार्सिलोनाले अपमानजनक ढंगले आफूलाई लखेट्ने भएपछि त्यसको बदलामा मोटो रकम दाबी नगरेर नैतिक जवाफ दिने भएका छन् । यस्तो रिपोर्ट स्पेनिस पत्रिका ‘एएस’ र ‘स्पोर्ट’ले छापेका छन् ।

बार्सिलोनामा भिडालको वार्षिक तलब करिब ८ मिलियन युरो छ (नेपाली रुपैयाँ १ अर्ब १० करोडभन्दा बढी) । यसबाहेक उनले उपाधि सफलता, खेल संख्या तथा जर्सीको बिक्रीबापत राम्रो बोनस रकम पाउँछन् । यी सबै गर्दा उनले लिने पैसा अझै बढी हुन्छ । तर, आफ्नो बार्सिलोनामा रहने चाहना हुँदाहुँदै क्लबले कोठा खाली गर्ने भएपछि भिडाल निराश छन् । र, उनी नयाँ प्रशिक्षक तथा बोर्डसँग रिसाएका छन् ।

भिडालले दुई वर्ष बसेर काम गरेको क्लबबाट औपचािरक बिदाइसमेत नपाई जानुपर्ने भएपछि आफू अपमानित भएको ठानेका छन् । र, उनले यसकै प्रतिउत्तरमा आफूले दाबी गरेर लिन सक्ने करिब १० मिलियन बराबर रकम नलिई जाने भएका छन् ।

यता, बार्सिलोनाले बेच्ने अर्का खेलाडी लुइस स्वारेजले भने बाँकी रहेको एक सिजनको तलब तथा सबैखाले बोनससहितको रकम लिएरै छाड्ने भएका छन् । इटालियन युभेन्टस जाने तयारीमा रहेका उनले सरुवा पक्का हुने भएपछि बार्सिलोनासँग रकमका लागि दाबी गर्ने नभए कानुनी प्रक्रियामा जाने तयारी गरेको रिपोर्ट आएका छन् । उनलाई पनि बार्सिलोनाले अन्तिम वर्षको सम्झौता बाँकी छँदै बेच्न लागेको हो ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार १५:१४
Loading...