वेल्सको जितमा ९४औं मिनेटमा विजयी गोल

काठमाडौं, भदौ २१
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा ग्यारेथ बेलको टिम वेल्सले कठिन जित निकालेको छ । आज आइतबार भएको समूह चरणको दोस्रो खेलमा वेल्सले बुल्गेरियामाथि १–० को साँघुरो जित निकाल्दै लगातार दोस्रो जित हात पारेको हो ।

आफ्नो घरेलु मैदानमा वेल्सले ९० मिनेटपछि थपिएको समयको चौथो मिनेटमा १ मात्रै विजयी गोल गरेको थियो । त्यसअघि निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल भएन । आफ्नो घरमा वेल्सले सामान्य मात्रै प्रदर्शन गर्दा उसले खेलभरि कूल ८ प्रहार गरेकोमा ३ प्रहार टार्गेटमा थियो ।

यता, पाहुना टोली बुल्गेरियाले जम्मा २ पटक मात्रै सट हान्दा एक सट पनि सही दिशामा रहेन । खेल ०–० तर्फ अघि बढेका बेला थपिएको समयको चौथो मिनेटमा युवा खेलाडी नेको विलियम्सले वेल्सका लागि विजयी गोल गरे । मैदानको तल्लो कुनाबाट पाएको आकासे बलमा विलियम्सले बक्स भित्रबाट हेडिङमार्फत् गोल गरेपछि खेल वेल्सले १–० ले जित्यो ।

उनले वेल्सका लागि पहिलोपटक आफ्नो भूमिमा खेल्दा विजयी गोल गर्न सफल भए । उनले यसै प्रतियोगितामार्फत् राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनले यसअघिको खेलबाट वेल्स टोलीमा डेब्यु गरेकोमा दोस्रो खेलमा टोलीका लागि विजयी गोल गर्न सफल भए ।

अब यो जितपछि वेल्स २ वटै खेलमा शतप्रतिशत जित निकालेर ६ अंकसहित लिग बी–समूह ४ को शीर्ष स्थानमा छ । पराजित बुल्गेरियाले १ अंक जोडेको छ ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार १४:५२
Loading...