पेनाल्टी गोलको मदतमा आइसल्यान्डमाथि इंग्ल्यान्डको कठिन जित

काठमाडौं, भदौ २१
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा इंग्ल्यान्डले संघर्षपूर्ण जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत गत राति भएको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले आसल्यान्डलाई उसैको भूमिमा ०–१ ले हरायो । इंग्ल्यान्डको कठिन जितमा १ मात्रै पेनाल्टी गोल निर्णायक बन्यो ।

खेलमा दुवै टोली १० खेलाडीमा सीमित भएका थिए । ७०औं मिनेटमा इंग्ल्यान्डका केले वाल्कर दोहोरो पहेंलोका साथ रातो कार्ड पाएर मैदान छाड्दा ८९औं मिनेटमा आइसल्यान्डका स्भरिर इन्गी इङ्ग्सन पनि दोहारो पहेंलोका साथ रातो कार्ड पाएर मैदान छाडेका थिए ।

इंग्ल्यान्डले पकड जमाएको खेलमा उसले ७८ प्रतिशत बल आफ्नो पक्षमा राखे पनि गोलका लागि अन्तिम समयसम्म संघर्ष गर्नु परेको थियो, त्यो पनि पेनाल्टी गोल । ९० मिनेटपछि इंग्ल्यान्डले पेनाल्टी पायो, जसमा रहिम स्टर्लिङले गोल गर्दै टिमलाई जिततर्फ लगेका थिए । तर, त्यसको २ मिनेटमै आइसल्यान्डले पनि पेनाल्टी पायो । तर, बिर्किर जर्नसनले पेनाल्टी चुकाएपछि आइसल्यान्डले बराबरी गर्न असफल भयो । र, खेल इंग्ल्यान्डले ०–१ ले जित्यो ।

अब यो जितपछि इंग्ल्यान्ड आफ्नो समूहमा ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । बेल्जियम पनि ३ अंकसहित शीर्ष स्थानमा छ । पराजित आइसल्यान्ड र डेनमार्क अंकविहीन छन् ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार ०२:१०
Loading...