फ्रान्सको कठिन जितमा एमबाप्पे नायक : ग्रीजम्यान पेनाल्टीमा चुके

काठमाडौं, भदौ २१
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा २०१८ को विश्वकप विजेता फ्रान्सले कठिन जित निकालेको छ । समूह ‘सी’ अन्तर्गत गत राति भएको आफ्नो पहिलो खेलमा फ्रान्सले स्वीडेनमाथि उसैको भूमिमा ०–१ को साँघुरो जित निकाल्यो । फ्रान्सको जितेमा युवा स्टार केलियन एमबाप्पे नायक बने ।

स्वीडेनको घरमा फितलो प्रदर्शन गरेको फ्रान्समाथि घरेलु टोलीले खेलभरि नै दबाब बनाएर खोलेको थियो । उसले बल ज्यादा आफ्नो पकडमा मात्रै राखेन, आक्रमण पनि बढी गरेको थियो । स्वीडेनले कूल १० आक्रमण गर्दा २ पटक मात्रै सही दिशामा हानेको थियो । यता, फ्रान्सले कूल ६ पटक मात्रै आक्रमण गर्दा मात्रै १ प्रहार सही दिशामा हानेको थियो ।

आफ्नो भूमिमा स्वीडेनले बलियो टोली फ्रान्सलाई कुनै बेला पनि खुलेर खेल्न दिएन । एमबाप्पेसहित एन्टोनी ग्रीजम्यान र ओलिभर जिरुउको आक्रमण लाइनले स्वीडेनविरुद्ध गतिला आक्रमण नै बुन्न सकेन । फ्रान्सका लागि खेलको ४१औं मिनेटमा एमबाप्पेले बक्स भित्रबाट गोल गरेपछि पहिलो हाफमा फ्रान्सले ०–१ को अग्रता लियो ।

दोस्रो हाफमा पनि स्वीडनेले पटक–पटक गोलका अवसर बनायो । तर, सदुपयोग गर्न सकेन । इन्जुरी समयमा स्वीडेनका खेलाडीले फ्रान्सका एन्थोनी मार्सियाललाई फउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । तर, ग्रीजम्यान पेनाल्टीमा चुके । उनको प्रहार बारमा लागेर फर्किएपछि फ्रान्सको जित ०–१ मै सीमित भयो । अब यो जितसँगै फ्रान्स समूह लिग एक, ग्रुप ३ मा ३ अंकसहित दोस्रो स्थानमा छ । पोर्चुगल समान ३ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति २१ भाद्र २०७७, आईतवार ०१:३३
Loading...