पिएसजीले बार्सिलोनालाई नपत्याएपछि नेइमार भित्र्याउन युभेन्टस ‘बम्पर अफर’ गर्दै !

एजेन्सी, भदौ ३
इटालियन क्लब युभेन्टस फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार अनुबन्ध गर्ने दौडमा मिसिएको छ । नेइमारको पूर्वक्लब बार्सिलोना कुनै पनि हालतमा पूर्वस्टार नेइमारलाई पुनः क्याम्प नोउ फर्काउने दौडमा रहँदा पिएसजीले बार्सिलोनाका सबैखाले प्रस्ताव अस्वीकार गरेपछि युभेन्टस विश्वकीर्तिमानी खेलाडी अनुबन्ध गर्ने दौडमा उत्रिएको हो ।

इटालियन र स्पेनिस मिडियाका अनुसार युभेन्टसले २७ वर्षीय नेइमारलाई क्लबमा आकर्षक तलब दिने गरी पिएसजीका लागि पनि खेलाडीसहितको अफर गर्ने तयारी गरेको छ । रिपोर्टअनुसार युभेन्टस नेइमारका लागि आफ्ना अर्जेन्टिनी स्टार खेलाडी पाउलो डिबालासहित १०० मिलियन युरो रकम दिन तयार छ ।

अहिले युभेन्टसका खेल निर्देशक फावियो पाराटिसी नेइमार भित्र्याउन लागिपरेका छन् । बजारमा अहिले डिबालाको मार्केट भ्यालु ८० मिलियन युुरो रहेको छ ।

युभेन्टस नेइमारलाई क्लबमा प्रतिसिजन ३७ मिलियन युरो तलब दिनसमेत तयार छ । यो हाल युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई दिइरहेको भन्दा बढी तलब हो ।

रिपोर्टअनुसार बुधबार डिबालाका एजेन्ट र पिएसजीका अधिकारीबीच पहिलो चरणको छलफल हुँदैछ । नेइमार सन् २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन युरोमा पिएसजी पुगेका थिए ।

प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ११:३८
Loading...