नेसन्स लिग सुरु हुनुअघि रोनाल्डोले लेखे यस्तो सन्देश

एजेन्सी, भदौ २०
युरोपियन देशहरूले प्रतिस्पर्धा गर्ने युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा आज राति साबिक च्याम्पियन पोर्चुगलले आफ्नो पहिलो खेल क्रोएसियासँग खेल्दै छ । सो खेलअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फ्यानहरूका नाममा एक सन्देश लेखेका छन् । उनले आफूहरू दोस्रोपटक उपाधि रक्षाका लागि तयार रहेको र फेरि एकपटक सबैका लागि च्याम्पियन बन्न चाहेको बताएका छन् ।

रोनाल्डो स्वयं भने आज रातिको खेलमा खेल्नेछैनन् । ३ दिनअघि प्रशिक्षणक्रममा उनको खुट्टाको औंलामा चोट परेको छ । र, उनले क्रोएसियासँगको खेल गुमाउने पक्का भइसकेको छ । तर, उनले ३ दिनपछि हुने स्वीडेनविरुद्धको खेल भने खेल्नेछन् । रोनाल्डो यसै चरणमा कम्तीमा १ गोल गर्दै १०० अन्तर्राष्ट्रिय गोल पूरा गर्ने दाउमा छन् । र, उनका लागि स्वीडेनसँगको खेल अवसर हुनेछ ।

पोर्चुगलले क्रोएसियासँग पहिलो खेल खेल्नु एक दिनअघि सामाजिक सन्जाल इन्स्टाग्राममा एक तस्बिर पोस्ट गर्दै रोनाल्डोले लेखेको सन्देश यस्तो छ–

‘हाम्रो इतिहास हामी सबैका लागि उपलब्धि र अद्वितीय क्षणहरूबाट बनेको छ । भोलि हामी नेसन्स लिगको उपाधि रक्षाका लागि सुरुआत गर्छौं । तपाईंहरूका लागि, हाम्रा लागि । र, सबैका लागि । जय पोर्चुगल ।’

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार १६:१४
Loading...