चेल्सीले भित्र्यायो जर्मनीका युवा स्टार : बन्यो कीर्तिमान

काठमाडौं, भदौ २०
इंग्लिस क्लब चेल्सीले जर्मनीका युवा स्टार काई हाभर्ट्ज अनुबन्धको घोषणा गरेको छ । शनिबार चेल्सीले औपचारिक रूपमा जर्मन क्लब बायर लेभरकुसेनका अट्याकिङ मिडफिल्डरलाई अनुबन्ध गरेको घोषणा गरेको हो । २१ वर्षका प्ले मेकर खेलाडीका लागि चेल्सीले ७२ मिलियन पाउन्ड सरुवा फी तिरेको छ ।

लामो कसरतपछि चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डको योजनाका हाभर्ट्ज स्टामफोर्ड ब्रिजमा उत्रिएपछि चेल्सीका लागि यस समर विन्डोको बिजनेस करिब–करिब सकिएको छ । लाम्पार्ड आफू चेल्सीको प्रशिक्षक बनेयता ६ जना खेलाडी अनुबन्ध गरिकसकेका छन् ।

चेल्सीले अनुबन्धको घोषणासँगै हाभर्ट्ज लाई घरेलु मैदानमा सार्वजनिक समेत गरिसकेको छ । हाभर्ट्जको अनुबन्धपछि अब नयाँ कीर्तिमान बनेको छ । यो सरुवासँगै उनी अब जर्मनीका सबैभन्दा महँगा खेलाडी बनेका छन् । यसअघि जर्मनीका कुनै पनि खेलाडी यति महँगो मूल्यमा सरुवा भएका थिएनन् ।

लेभरकुसेनमा चार सिजन बिताएका हाभर्ट्ज ले कूल १५० खेल खेल्दै ४६ गोल गरेका छन् । सिजन २०१९–२० मा उनले ४५ खेलबट १८ गोल गरेका थिए भने ११ गोलमा असिस्ट गरेका थिए । उनी लेभरकुसेनका प्रमुख खेलाडी थिए । त्यहाँ उनको उच्च प्रदर्शन हेरेरै चेल्सीका लाम्पार्ड लोभिएका थिए ।

अब हाभर्ट्जजस्ता युवा प्ले मेकरको अनुबन्धपछि चेल्सी थप बलियो बनेको छ । उसले यसअघि डच क्लब आयाक्सबाट हाकिम जियाच, जर्मन क्लब आरबी लेइपजिगबाट टिमो वार्नरजस्ता स्टार खेलाडी भित्र्याइसकेको छ ।

प्रकाशित मिति २० भाद्र २०७७, शनिबार ०४:०९
Loading...