च्याम्पियन्स लिग जितेर बार्सिलोना फर्किए कोउटिन्हो : थाले प्रशिक्षण

एजेन्सी, भदौ १९
स्पेनिस बार्सिलोनाका लोन खेलाडी मूल क्लब फर्किएका छन् । जर्मन क्लब बार्यन म्युनिखबाट एक वर्षको लोन अवधि पूरा गरेर ब्राजिलियन खेलाडी बार्सिलोना फिर्ता भएका हुन् । गत समर सिजनमा कोउटिन्हो एक वर्षका लागि लोनमा बार्यन गएका थिए । तर, बार्यनले उनीसँग थप सम्झौता नगरेपछि र स्थायी खेलाडी पनि नबनाएपछि कोउटिन्हो क्याम्प नोउ फर्किएका हुन् ।

सिजन सकिएर बार्सिलोना फर्किएपछि कोउटिन्होले आजैबाट सहकर्मीसँगै सामूहिक प्रशिक्षण पनि थालेका छन् । उनले अन्य खेलाडीसँगै प्रशिक्षण गर्दै गरेका तस्बिर बार्सिलोनाले सार्वजनिक गरेको छ । कोउटिन्हो बार्सिलोना फर्किंदा निकै खुसी खुसी देखिन्छन् ।

गत समरमा त्यसबेलाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले नियमित खेल्न नदिएपछि उनी बाध्य भएर लोनमा बार्यन पुगेका थिए । बार्यनमा एक सिजन बिताउनेक्रमा कोउटिन्होले युरोपियन च्याम्पियन्स लिगसहित ट्रिबेल उपाधि जिते । बार्यनले फाइनलमा फ्रेन्च क्लब पिएसजीलाई १–० ले हराएर छैटौंपटक च्याम्पियन्स लिग जित्दा कोउटिन्हो पनि टोलीका प्रमुख हिस्सा थिए ।

अन्तिम आठमा बार्यन र बार्सिलोना नै भिडेका थिए । सो खेलमा बार्यनले बार्सिलोनालाई ८–२ को बेइज्जतीपूर्ण हार चखाएको थियो । बार्सिलोनाले इतिहासकै खराब हार व्योर्दा कोउटिन्होले १५ मिनेट खेल्दै आफ्नै मूल क्लबविरुद्ध २ गोल ठोक्दै १ गोलमा असिस्ट गरेका थिए । बार्सिालोनाबाट लोनमा बार्यन गएर लोन क्लबबाटै गोल गर्दै बार्सिलोनालाई खराब अवस्थाबा आउट गराएपछि कोउटिन्होको चर्चा बढेको थियो । सोही ८–२ को हारपछि बार्सिलोनामा अहिले ठूलै उथलपुथल चलिरहेको छ ।

कोउटिन्होले बार्यनबाट च्याम्पियन्स लिगसहित बुन्डेसलिगा र जर्मन कप उपाधि गरी तीन उपाधि जिते । बार्यनले क्लब इतिहासमा दोस्रोपटक ट्रिबेल उपाधि जित्दा कोउटिन्होको योगदान पनि महत्त्वपूर्ण थियो । उनले बार्यनका लागि सिजनभरमा ३८ खेल खेल्दै ११ गोल गरेका थिए ।

तर, सम्झौता सकिएपछि बार्यनले उनलाई निरन्तरता नदिएपछि उनी बार्सिलोना फर्किएका हन् । यदि बार्यनले चाहेको भए उनलाई मात्रै १२० मिलियन युरो तिरेर स्थायी खेलाडी बनाउन सक्थ्यो । तर, बार्यनले इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट जर्मनीकै लिरोए साने अनुबन्ध गरेकाले कोउटिन्हो बार्यनको योजनामा परेनन् ।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएमानले कोउटिन्होलाई नयाँ सिजनमा प्रमुख योजनामा राख्ने भएपछि उनका लागि क्याम्पमा नयाँ सिजन सुरक्षित हुने देखिएको छ । सार्वजनिक अन्तर्वार्ताक्रममा डच म्यानेजर कोएमानले कोउटिन्होलाई आफूले योनजामा राखेको बताउँदै आएका छन् ।

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार १४:४२
Loading...