बदलियो मेस्सीको कहानी : बार्सिलोनामै बस्ने पक्का !

एजेन्सी, भदौ १९
अन्ततः क्लब छाड्ने निर्णय गरेर घरमै बसेका स्पेनिस बार्सिलोनाका प्रमुख खेलाडी तथा कप्तान लिओनल मेस्सीले बार्सिलोना नछाड्ने भएका छन् । अन्तर्राष्ट्रिय मिडियाका ताजा रिपोर्टअनुसार मेस्सीका एजेन्टसमेत रहेका उनका पिता जोर्गे मेस्सी र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउबीच दोस्रोपटक भएको बैठकबाट यस्तो सहमति बनेको हो ।

अर्जेन्टिनाको ‘टिवाईसी स्पोर्ट्स’ले ताजा समाचारमा यो दाबी गरेको छ कि, मेस्सीले बार्सिलोनामा कम्तीमा एक सिजन निरन्तरता दिने पक्का भएको छ । तर, हालसम्म क्लब बार्सिलोना वा मेस्सी स्वयंले यसबारे औपचारिक रूपमा घोषणा गरिसकेका छैनन् । तर, आगामी २४ घन्टाभित्रमा मेस्सीले सार्वजनिक रूपमा बार्सिलोनामै रहने घोषणा गर्ने तयारी गरेको खबर छ ।

गत साता मेस्सीले अप्रत्यासित रूपमा ब्युरोफ्याक्समार्फत् बार्सिलोनालाई आफूले क्लब छाड्ने फैसला पठाउँदा आफ्नो एक वर्षको सम्झौता खारेज गर्न अनुरोध गरेका थिए । मेस्सीले आफ्नो रिलिज क्लब खारेज गरी आफूलाई रिजिल गरिदिन भनेका थिए ।

तर, बार्सिलोनाले मेस्सीको अनुरोध स्वीकारेन । र, उनलाई बेच्ने संकेतसमेत देखाएन । त्यस्तो अवस्थामा बार्सिलोनाको सहमति बिपरीत मेस्सीलाई लैजाने क्लबले उनलाई भित्र्याउन ७०० मिलियन तिर्नुपर्ने थियो । तर, मेस्सीले लैजाने भनिएको प्रमुख दाबेदार इंग्लिस क्लल म्यानचेस्टर सिटीले मेस्सीका लागि ७०० मिलियन खर्च गर्न नसक्ने र बार्सिलोनाले फ्रि ट्रान्सफरमा नछाड्ने भएपछि मेस्सीको क्लब छाड्ने निर्णय धर्मसंकटमा परेको थियो ।

क्लबले फ्रीमा जान नदिने, सिटीले ७०० मिलियन तिर्न नसक्ने र आफू २० बसेर योगदान गरेको क्लबविरुद्ध मुद्दामामिला गरेर तनावपूर्ण अवस्थाबाट बिदा हुनुभन्दा थप एक सिजन बसेर सम्मानजनक ढंगले क्लब छाड्न दबाब बढेपछि मेस्सीको मनस्थिति बदलिएको देखिन्छ ।

अन्ततः आफ्नो निर्णयले नैतिक रूपमा आफैंलाई अप्ठेरोमा पार्ने भएपछि मेस्सी पछिल्ला दिन ‘सेफल्यान्डिङ’ खोजिरहका थिए । त्यसका लागि एजेन्टसमेत रहेका पिता जोर्गे मेस्सी अर्जेन्टिनाबाट क्लबसँग कुरा गर्न बार्सिलोना आएका थिए । उनले अध्यक्ष बार्टोमेउसँग पहिलोपटक छलफल गर्दा पनि बार्सिलोनाले मेस्सीलाई फ्रीमा जान नदिने र सहमतिमा पनि नबेच्ने अडान लिएपछि मेस्सी बाध्य भएर एक सिजन थप बार्सिलोनामै रहन बाध्य बन्नुपर्ने स्थिति आएको हो ।

मेस्सीले आफ्नो निर्णय फिर्ता लिएर थप एक सिजन बार्सिलोनामै बस्ने स्थितिमा दुई पक्षबाट अन्य के–के विषयमा कस्ता सहमति बन्छन् भन्ने विषयमा खुल्न बाँकी छ ।

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार १३:३५
Loading...