बार्सिलोनामा मेस्सीको भविष्यबारे बोले ग्रीजम्यान

एजेन्सी, भदौ १९
स्पेनिस बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रीजम्यानले आफ्ना सहकर्मी लिओनल मेस्सीले क्लब छाड्ने विषयमा लिएको निर्णयको विषयमा आफ्नो धारणा राखेका छन् । युइएफए नेसन्स लिग खेल्न फ्रान्सको टोलीमा रहेका उनले मेस्सीले क्लब नछाड्नेमा आफू ढुक्क रहेको बताए । बार्सिलोनामा अहिले थुप्रै कुरा ठीकठाक नरहे पनि अन्तिम समयमा मेस्सी क्याम्प नोउमै रहने आफू आशावादी रहेको बताए ।

‘बार्सिलोनामा अहिले धेरै कुरा ठीकठाक छैनन् । हामीले केही कुरा सुनेका छौं । त्यहाँ के भइरहेको छ भन्ने विषयमा हामी अपडेट हुने प्रयासमा छौं,’ ग्रीजम्यानले भनेका छन्, ‘तर, क्लब छाड्ने निर्णय मेस्सीको हो । र, यस्तो विषय खेलाडी र क्लबसँग सम्बन्धित हुन्छ । हामीले बोल्न मिल्दैन ।’

ग्रीजम्यानले अझै पनि बार्सिलोनाका लागि मेस्सीको आवश्यकता रहेको औंल्याउँदै उनीले निर्णय बदल्नेमा आशा व्यक्त गरे । ‘उनी यहीं बस्नेछन् भन्नेमा म आशा मात्रै गर्न सक्छु । म अहिले फ्रान्सको टोलीमा केन्द्रित छु । बार्सिलोनामा के हुनेवाला छ भन्ने मलाई अनुमान छैन । तर, मेस्सीले क्लब छाड्दैनन् भन्नेमा म आशावादी छु,’ ग्रीजम्यानले भने ।

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार ०८:४८
Loading...