पिएसजीका थप ३ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, भदौ १९
फ्रेन्च क्लब पिएसजीका थप ३ जना खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । फ्रेन्च मिडियाले बिदामा रहेर क्लब फर्किएका ३ खेलाडीमा कोरोना देखिएको खबर दिएका छन् । नयाँ संक्रमित थपिएका खेलाडीमा गोलकिपर केलर नाभास, डिफेन्डर मार्किन्हस र फरवार्ड माउरो इकार्डी रहेका छन् ।

यसअघि फरवार्ड नेइमार, एन्डल डि मारिया र लियोनाद्रो पाराडेसलाई कोरोना संक्रमण देखिएको थियो । संक्रमित सबै खेलाडी बिदामा थिए । सुरुआतमा ३ जना खेलाडीमा कोरोना देखिएपछि थप खेलाडी र अधिकारीको कोरोना संक्रमण जाँच गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।

क्लब पिएसजीले आफ्ना कोरोना संक्रमित खेलाडीको स्वास्थ्य अवस्था ठीकठाक रहेको रहेको जानकारी दिँदै सबै जना होम आइसोलेसनमा रहेको जनाएको छ । यसअघि नै पिएसजीले आफ्ना प्रमुख खेलाडीले कोरोना देखिएपछि लिग वान केही समय स्थगित गर्न फ्रेन्च फुटबल संघसँग अनुरोध गरेको थियो ।

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार ०८:००
Loading...