नेसन्स लिग : घरेलु मैदानमा जर्मनी स्पेनसँग रोकियो

काठमाडौं, भदौ १९
युइएफए नेसन्स लिग फुटबलमा जर्मनी र स्पेनले बराबरी नतिजाबाट प्रतियोगिताको सुरुआत गरेका छन् । नेपाली समयअनुसार शुक्रबार बिहान समूह ‘डी’ अन्तर्गत भएको दुई पूर्वविश्वविजेताहरूको भिडन्तमा जर्मनीले इन्जुरी समयमा गोल खाँदा खेल १–१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा जर्मनीले आफ्ना खास प्रतिस्पर्धी स्पेनविरुद्ध पहिला अग्रता लिए पनि अन्तिम समय सम्हालिन नसक्दा गोल खायो ।

निकै प्रतिस्पर्धात्मक खेलमा जर्मनीले खेलको ५१औं मिनेटमा युवा स्टार टिमोवार्नरको गोलबाट खोलेको थियो । वार्नरले गोसेन्सको पासमा गोल गरेका थिए । सोही अग्रता लिएर जर्मनी साँघुरो जिततर्फ अघि बढेको थियो । तर, ९० मिनेटपछि थपिएको समयको पाँचौं मिनेटमा पाहुना टोली स्पेनले बराबरी गोल हान्यो । जोसे लुइस गयाले बक्स भित्रबाट क्रस पासबाट आएको बलमा सहजै गोल गरेपछि खेल १–१ मा टुंगियो । त्यसअघि स्पेनका लागि युवा स्टार अन्सु फातीले आफ्नो डेब्यु खेलमै गोल गरे पनि सो खेल रद्द भएको थियो ।

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार २०:२६
Loading...