मेस्सी धर्तीकै ‘नम्बर वान’ ड्रिबलर !

एजेन्सी, भदौ ३
स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सी आफ्ना केही खास खेल शैली र क्षमताका हिसाबले चर्चित छन् । उनले करिअरमा पाएका सफलता र बनाएका रेकर्डलाई छाड्दा पनि मेस्सी आफैंमा शानदार छन् ।

हरेक खेलमा उनले केही न केही नयाँ गरेर देखाउँछन् । उनका समर्थकहरू सधैं मेस्सीको फरकखाले शैली र नयाँ–नयाँ चमत्कारिक प्रदर्शन हेर्न बानी नै परिसकेका छन् ।

विश्वभरिका करोडौं समर्थकहरूले सर्वाधिक रुचाएका मेस्सीका केही विशेषतामध्ये उनको ‘ड्रिबलिङ’ हो । अर्थात्, मेस्सी युरोपियन फुटबलमा मात्रै नभएर विश्व फुटबलमै सर्वाधिक ड्रिबलरमा पर्छन् । कतिपयले त उनलाई ‘धर्तीकै सफल ड्रिबलर’ नै मान्छन् ।

यो फ्यानहरूको अडान वा दाबी मात्रै हैन, हालै सार्वजनिक भएको एक तथ्यांकले पनि यही देखाएको छ । फुटबलको विभिन्न तथ्यांक संकलन तथा विश्लेषण गर्ने ‘ओप्टा स्टाटस’ का अनुसार मेस्सी युरोपमा टप–५ लिगमा नम्बर वान ड्रिबलर हुन् ।

सिजन २००६–०७ देखि मेस्सी युरोपका टप–५ लिगमा लगातार हरेक सिजन सर्वाधिक सफल ड्रिबलर साबित हुँदै आएका छन् । सन् २००४–०५ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका ३२ वर्षीय मेस्सी १३ वर्षदेखि लगातार सफल ड्रिबल गर्ने खेलाडीको सूचीमा आफूलाई १ नम्बरमा राख्दै आएका छन् ।

‘ओप्टा’को तथ्यांक विश्लेषणअनुसार मेस्सीले विगत १३ सिजनको बीचमा कूल १८५० सफल ड्रिबल गरेका छन्, जुन युरोपका टप–५ लिगका अन्य कुनै पनि खेलाडीले गरेको भन्दा सर्वाधिक बढी हो ।

मेस्सीपछि विगतमा लामो समय इंग्लिस क्लब चेल्सीमा रहेका तथा हालै स्पेनकै रियल मड्रिडमा आएका बेल्जियमका प्ले मेकर खेलाडी इडेन हाजार्ड रहेका छन् । उनले मेस्सीकै अवधिमा कूल ११९५ सफल ड्रिबल गरेका छन् ।

तेस्रो नम्बरमा जर्मन क्लब बार्यन म्युनिखका लिजेन्ड फ्रेन्च खेलाडी फ्रान्क रिबेरी छन् । उनले सोही अवधिमा कूल ९१६ सफल ड्रिबल गरेका छन् ।

सो सूचीको टप–३ मा हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगिज क्रिस्टियानो रोनाल्डो तथा हाल पिएसजीबाट खेलिरहेका ब्राजिलियन नेइमार छैनन् ।

प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ०७:०९
Loading...