रोनाल्डोसँग खेल्ने मेरो सपना साकार भयो : अर्थुर

एजेन्सी, भदौ १८
इटालियन क्लब युभेन्टसका नयाँ खेलाडी अर्थुर मेलोले नयाँ क्लबमा सार्वजनिक हुनेक्रममा क्रिस्टियानो रोनाल्डोसँग खेल्ने आफ्नो सपना साकार हुने भएकोमा खुसी व्यक्त गरेका छन् । यसै समर विन्डोमा स्पेनिस बार्सिलोनाबाट ७२ मिलियन युरोमा युभेन्टस पुगेका ब्राजिलियन खेलाडीले युभेन्टसमा रोनाल्डोसँग खेल्न आफू निकै उत्साहित रहेको बताएका छन् ।

बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सी र पोर्चुगिज रोनाल्डोसँग सहकर्मी बनेर खेल्ने थोरै खेलाडीमध्ये अब अर्थुर पनि एक भएका छन् । बार्सिलोनामा दुई सिजन अर्थुरले मेस्सीसँग खेले । उनले अब रोनाल्डोसँग युभेन्टसमा सँगै खेल्ने भएका छन् । यी दुई खेलाडीसँग सहकर्मी बनेर खेल्ने ब्राजिलका थोरै खेलाडीमध्ये अर्थुरमा एक बनेका छन् ।

पहिलोपटक युभेन्टसको जर्सीमा घरेलु एलिनाज रंगशालामा सार्वजनिक हुनेक्रममा पत्रकार सम्मेलनमा कुरा गर्दै अर्थुरले रोनाल्डोजस्ता च्याम्पियन खेलाडीसँग खेल्नु आफ्नो एक सपना रहेको बताउँदै सो सपना पूरा हुने भएपछि खुसी लागेको बताए । ‘युभेन्टस युरोपको एक ठूलो क्लब हो, जोसँग ठूला उपाधि जित्ने महत्त्वकांक्षा र तत्परता छ । यस्तो टिमको हिस्सेदार बन्न पाउँदा म खुसी छु,’ अर्थुरले भने ।

अर्थुरले अघि थपे, ‘म रोनाल्डोजस्ता च्याम्पियन खेलाडी खेल्ने टोलीमा आइपुगेको छ । मसँग साँच्चै ठूलो उत्साह छ । किनभने, उनीसँग एकै टोलीबाट खेल्नु मेरो एक सपना थियो । र, आज त्यो पूरा हुँदैछ ।’

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार १५:५३
Loading...