युभेन्टसमा सार्वजनिक भएपछि अर्थुरका पाँच बाचा र प्रतिबद्धता

काठमाडौं, भदौ १८
इटालियन क्लब युभेन्टसले आफ्ना नयाँ खेलाडी अर्थुर मेलोलाई अघिल्लो दिन औपचारिक रूपमा सार्वजनिक गरेको छ । घरेलु एलिनाज रंगशालामा युभेन्टसको जर्सीमा सार्वजनिक हुँदा २३ वर्षका ब्राजिलियन प्ले मेकरले मैदान प्रवेश गर्नुअघि सबैभन्दा पहिला मैदानप्रति सम्मान दर्शाउँदै जमिन ढोगेका थिए । त्यसपछि उनी फोटो सेसन, सम्झौता र पत्रकार सम्मेलनमा सामेल भए ।

युभेन्टसले नयाँ खेलाडी अर्थुरलाई ५ नम्बर जर्सी दिएको छ, जुन यसअघि बार्सिालेनालाई बेचेका मिडफिलडर मिरेलाम पियानिचले लगाउँथे । युभेन्टसले अर्थुरलाई ७२ मिलियन युरोमा अनुबन्ध गर्दा ३० वर्षका पियानिचलाई ६५ मिलियन युरोमा बेचेको थियो ।

नयाँ क्लबमा औपचारिक रूपमा सार्वजनिक हुनेक्रममा ब्राजिलियन खेलाडीले आफ्ना भनाइ राखेका थिए । पहिलोपटक औपचारिक पत्रकार सम्मेलनमा सरिक हुनेक्रममा अर्थुरले नयाँ क्लबमा आफूले शतप्रशित मेहनत गर्ने र सकेसम्म धेरै उपाधि जित्न टिमलाई सघाउने मात्रै बताएनन्, फ्यानहरूको खुसीका लागि च्याम्पियन्स लिग जित्ने बाचासमेत गरे । सोक्रममा उनले बोलेका केही भनाइ यहाँ राखिएको छ :

म एक ठूलो क्लब र उत्कृष्ट खेलाडीहरूको टोलीमा आइपुगेको छु । म सँग एक च्याम्पियन टोलीसँग खेल्ने अवसर छ । युभेन्टस, जोसँग महत्त्वकांक्षी योजना छ । र, त्यसलाई हाँसिल गर्ने तत्परता पनि छ । मलाई विश्वास छ, यस टिमलाई म आफ्नो शतप्रशित योगदान दिन सफल हुनेछु । म यहाँ राम्रो गर्न र अझै धेरै जित्न आइपुगेको छु ।

म यस टिममा जुनसुकै पोजिसनबाट खेल्न सक्छु । प्रशिक्षकको योजना र फर्मेसनअनुसार मलाई विभिन्न भूमिका दिए पनि म फिट हुनेछु । म प्रशिक्षकको योजना र रणनीतिका लागि कुनै समस्या हुनेछैन । मेरो भूमिकाले टिमलाई अवश्य पनि सहयोग पुग्नेछ ।

म च्याम्पियन्स लिग जित्ने महत्त्वकांक्षा बोकेको टोलीको हिस्सेदार हुँ । यस टोलीबाट च्याम्पियन्स लिग जित्न सके मेरा लागि सुन्दर हुनेछ । र, हामी यस उपलब्धिका लागि सबै एकताबद्ध भएर काम गर्नेछौं । युभेन्टस र इटालीका फ्यानहरूले मलाई ठूलो माया दर्शाएका छन् । च्याम्पियन्स लिग जितेर उनीहरूलाई नयाँ खुसी दिन हामी हरसम्भव प्रयास गर्नेछौं, यो मेरो बाचा हो ।

यहाँ मेरो राष्ट्रिय टोलीका सहकर्मी मात्रै छैनन्, विश्वकै उत्कृष्ट रोनाल्डोजस्ता च्याम्पियन खेलाडी छन् । उनीसँग खेल्नु मेरो एक सपनाजस्तै थियो, त्यो यहाँ आएर साकार हुने भयो । म खुसी छु । किनभने, म रोनाल्डोजस्ता च्याम्पियन र नेता खेलाडीको टोलीमा उनको सहकर्मी हुँदै छु ।

म यहाँ केवल आउनका लागि मात्र आएको छैन । क्लबले मप्रति जुन चासो र विश्वास देखायो, म त्यसलाई न्याय गर्न प्रतिबद्ध छु । टिमको जित र सफलताका लागि म सधैं लड्नेछु । म यहाँ जहिलेसम्म हुनेछु, सधैं सबै कुरा जित्नकै लागि हुनेछु । मलाई आशा छ, पहिलो सिजन म क्लब, प्रशिक्षक र फ्यानहरूको विश्वास जित्न सफल हुनेछु ।

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार १३:३०
Loading...