पोर्चुगललाई तनाव : प्रशिक्षण दौरान कप्तान रोनाल्डो घाइते

एजेन्सी, भदौ १८
युइएफए नेसन्स लिगअन्तर्गत पहिलो खेलको पूर्वसन्ध्यामा साबिक च्याम्पियन पोर्चुगललाई चोटको पिरलो परेको छ । प्रमुख खेलाडी तथा कप्तान क्रिस्टियानो रोनाल्डो प्रशिक्षण दौरान घाइते भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । ३५ वर्षीय रोनाल्डोको सामूहिक प्रशिक्षण गर्नेक्रममा खुट्टाको औंलामा चोट परेको बताइएको छ ।

नेसन्स लिगको साबिक विजेता पोर्चुगलले शनिबार राति आफ्नो पहिलो खेल क्रोएसियासँग आफ्नै भूमिमा खेल्दै छ । हालकै स्थितिमा रोनाल्डोले पहिलो खेल गुमाउने सम्भावना प्रबल छ । हालसम्म पोर्चुगलले अफिसियल रूपमा आफ्ना कप्तानको चोटबारे जानकारी गराएको छैन । तर, पोर्चुगिज मिडियाले रोनाल्डोले चोटका कारण क्रोएसियासँगको खेल गुमाउने खबर प्रकाशित गरेका छन् ।

पोर्चुगल यसपटक समूह ‘सी’ मा परेको छ । सो समूहमा पोर्चुगलसँगै फ्रान्स, क्रोएसिया र स्वीडेन परेका छन् । पोर्चुगलले दोस्रो खेल भने पहिलो खेलको ३ दिनपछि स्वीडेनसँग खेल्ने तालिका रहेको छ । सो खेलमा रोनाल्डो फिट हुनेछन् ।

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार १२:२७
Loading...