युइएफए नेसन्स लिग आजदेखि : पहिलो दिन जर्मनी र स्पेनको महाभिडन्त हुँदै

काठमाडौं, भदौ १८
युरोपियन देशहरूले प्रतिस्पर्धा गर्ने युइएफए नेसन्स लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछन् । संरचनागत मैत्रीपूर्ण प्रतियोगिताका रूपमा सन् २०१८ बाट युइएफएले सुरुआत भएको यस प्रतियोगितामा युरोपभरिका सबै देशले सहभागिता जनाउन पाउँछन् । यसको दोस्रो संस्करण आजबाट सुरु हुँदैछ । यसअघि पहिलो संस्करणको उपाधि पोर्चुगलले जितेको थियो ।

आज पहिलो दिन विभिन्न समूहबाट कूल १० खेल हुँदैछन् । आज हुने खेलमध्ये केही महत्त्वपूर्ण खेल हुनेछन् । त्यसमध्ये आज सबैभन्दा आकर्षणको खेलका रूपमा पूर्वविश्वच्याम्पियन टोलीहरू जर्मनी र स्पेनको रोमाञ्चक भिडन्त हुनेछ । यो खेल जर्मनीमा हुनेछ । यी दुई टोली समूह ‘डी’ मा छन् ।

स्पेनका प्रशिक्षक लुइस इनरिकेले यसपटक सुरुआती दुई खेलमा अधिकांश युवा खेलाडीलाई टोलीमा डाकेका छन् । तर, टोलीको कप्तानी भने नियमित कप्तान सर्जियो रामोसले नै गर्नेछन् । यसै प्रतियोगिताबाट बार्सिलोनाका युवा स्टार अन्सु फातीले पनि स्पेनको सिनियर टोलीबाट डेब्यु गर्दैछन् ।

यता, जर्मनीका प्रशिक्षक जोआचिम लोले पनि मिश्रित टोली स्पेनविरुद्ध उतार्नेछन् । उनले यपटक गोलकिपरमा पहिलो रोजाइका म्यानुएल निउर (बार्यन म्युनिख) र दोस्रो रोजाइका मार्क आन्द्रे टर स्टेगेन (बार्सिलोना) दुवैलाई टोलीमा राखेका छैनन् । तर, अन्य पोजिसनमा उनले यो समयका चर्चित युवा खेलाडीलाई महत्त्वसाथ समावेश गराएका छन् ।

जर्मनी र स्पेनले अन्तिमपटक सन् २०१८ को मार्च २४ तारिखमा मैत्रीपूर्ण खेल खेलेका थिए । जर्मनीमा भएको सो खेल १–१ को बराबरीमा सकिएको थियो । त्यसपछि यी दुई टोली २ वर्षको अन्तरलामा पहिलोपटक भिड्न लागेका हुन् । विश्व फुटबलका दुई ठूला शक्ति राष्ट्र खेल्ने भएकाले यो खेल धेरैका लागि प्रतीक्षाको खेल बनेको छ ।

आजका खेल नेपाली समयअनुसार

  1. लाटभिया भर्सेस आन्डोरा – राति ९ः४५ बजे
  2. फारोए आइसल्यान्ड भर्सेस माल्टा – राति १२ः३० बजे
  3. जर्मनी भर्सेस स्पेन – राति १२ः३० बजे
  4. बुल्गेरिया भर्सेस आयरल्यान्ड – राति १२ः३० बजे
  5. रसिया भर्सेस सर्बिया – राति १२ः३० बजे
  6. स्लाभेनिया भर्सेस ग्रीस – राति १२ः३० बजे
  7. टर्की भर्सेस हंगेरी – राति १२ः३० बजे
  8. फिनल्यान्ड भर्सेस वेल्स – राति १२ः३० बजे
  9. माल्डोभा भर्सेस कोसोभो – राति १२ः३० बजे
  10. युक्रेन भर्सेस स्वीट्जरयान्ड – राति १२ः३० बजे

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार ०४:१९
Loading...