आयाक्सका भान डे बिकलाई युनाइटेडले भित्र्यायो

काठमाडौं, भदौ १८
डच क्लब आयाक्सका युवा मिडफिल्डर डनी भान डे बिकलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ । बुधबार युनाइटेडले अफिसियल रूपमा २३ वर्षका नेदरल्यान्ड्सका खेलाडीलाई अनुबन्ध गरेको घोषणा गरेको हो । आयाक्सका स्टार खेलाडीका लागि युनाइटेडले मात्रै ३५ मिलियन पाउन्ड खर्चेको छ ।

सम्झौताअनुसार क्लबको सफलता र खेलाडीको सफलताका आधारमा युनाइटेडबाट आयाक्सकाले ५ मिलियनसम्म बोनस रकम पाउने सर्त छ । पहिलो चरणमा भान डे बिकले युनाइटेडसँग ५ वर्षका लागि सम्झौता गरेका छन् । उनी आयाक्सको एकेडेमीबाट हुर्किएका खेलाडी हुन् ।

सिजन २०१८–१९ मा आयाक्स च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुग्दा भान डे बिकले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही सिजनको प्रदर्शनबाट उनलाई युरोपका अन्य ठूला क्लबले नजर लगाएका थिए । सोही सिजनपछि नै फ्रेन्की डे जोङ स्पेनिस बार्सिलोनामा अनुबन्ध भए पनि माथिस डि लिग्ट इटालियन युभेन्टसमा अनुबन्ध भए ।

भान डे बिकले हालसम्म आयाक्सको सिनियर टोलीका लागि कूल १ सय ७५ खेल खेल्दै ४१ गोल गरेका छन् । उनले अब युनाइटेडमा पाउल पोग्बा र ब्रुनो फर्नान्डेजसँग मिलेर काम गर्नेछन् । भान डे बिकको अनुबन्धपछि युनाइटेडको मिडफिल्ड थप मजबुत बन्ने पका छ ।

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार ०२:३०
Loading...