पिएसजीद्वारा नेइमारका लागि बार्सिलोनाको ‘लोन प्रस्ताव’ पनि अस्वीकार

एजेन्सी, भदौ ३
फ्रेन्च क्लब पिएसजीले आफ्ना ब्राजिलियन खेलाडी नेइमारका लागि स्पेनिस बार्सिलोनाले गरेको लोन प्रस्ताव अस्वीकार गरेको छ । फ्रेन्च मिडिया ‘टेलिफुट’का अनुसार पिएसजीले बार्सिलोनाले एक वर्ष लोन अवधिका लागि पिएसजीसँग गरेको औपचारिक प्रस्ताव अस्वीकार गरिदिएको हो ।

बार्सिलोनाले सरुवा सिजन सकिन लाग्दा अन्तिम प्रयासस्वरूप पिएसजीसँग नेइमारका लागि लोन अफर गरेको थियो । बार्सिलोना नेइमारलाई एक सिजनमा लोनमा भित्र्याएर अर्को सिजन स्थायी रूपमै अनुबन्ध गर्ने तयारीमा छ ।

तर, बार्सिलोनाको अन्तिम प्रयास पनि पिएसजीले असफल पारिदिएको खबर फ्रेन्च मिडियाले छापेका छन् । पिएसजी नेइमारलाई लोनमा दिन तयार छैन ।

यता, बार्सिलोना भने आफ्ना स्टार मिडफिल्डर फिलिपे कोउटिन्होलाई लोनमा जर्मन क्लब बार्यन म्युनिख पठाएपछि नेइमार अनुबन्धका लागि सहज हुने आँकलनमा थियो । तर, पिएसजीले बार्सिलोनाको लोन अफरसमेत अस्वीकार गरेर बार्सिलोनालाई थप संकटमा पाािदिएको छ ।

नेइमार भित्र्याउन स्पेनकै क्लब रियल मड्रिड पनि लागिपरेको छ । रियलले खेलाडीसहित रकम दिएर नेइमार अनुबन्ध गर्न चाहेको छ ।

प्रकाशित मिति ३ भाद्र २०७६, मंगलवार ०५:१६
Loading...