क्याम्प नोउलाई यसरी भावुक बनाउँदै बिदा भए राकिटिक

एजेन्सी, भदौ १७
स्पेनिस फुटबल क्लब बार्सिलोनाले आफ्ना खेलाडी इभान राकिटिकको बिदाइ गरेको छ । आज क्लबले घरेलु क्याम्प नोउ रंगशालामा एक औपचारिक कार्यक्रम आयोजना गरेर क्रोएसियन खेलाडीको बिदाइ गरेको हो । अघिल्लो दिन मात्रै बार्सिलोनाले राकिटिकलाई ला लिगाकै सेभिल्लालाई बेचेको घोषणा गरेको थियो ।

सेभिल्ला राकिटिकको पूर्वक्लब हो । सेभिल्लाको कप्तान रहेका बेला सन् २०१४ मा राकिटिक २२ मिलयन युरोमा बार्सिलोनामा अनुबन्ध भएका थिए । ६ वर्ष बार्सिलोनामा बिताउनेक्रममा राकिटिकले कूल १३ उपाधि जिते । सोक्रममा उनले ३१० खल खेल्दै ३५ गोल गरे भने ४२ गोलमा असिस्ट गरे गरे । उनले बार्सिलोनाबाट चार ला लिगा, चार कोपा डेल रे, एक च्याम्पियन्स लिगसहित जम्मा १३ उपाधि जिते ।

नयाँ प्रशिक्षक रोनाल्ड कोएमानको योजनामा नयाँ सिजनमा नपर्ने भएपछि राकिटिकले बार्सिलोना छाडेका हुन् । बार्सिलोनाले उनलाई मात्रै १.५ मिलियन युरोमा बेचेको हो । लामो समय टोलीमा रहेर थुप्रै सफलता र उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका राकिटिको सम्मानस्वरूप क्लबले औपचारिक बिदाइ कार्यक्रम गरेको हो ।

६ वर्ष बिताएको क्लबको घरेलु रंगशालाबाट बिदाइ हुँदा राकिटिकले निकै भावुक मन्तव्य राखे । सोक्रममा उनले जितेका उपाधिसहित रंगशालामा तस्बिर खिचिएको थियो । त्यसपछि उनी पत्रकार सम्मेलनमा सहभागी भए । क्लबका तर्फबाट उनलाई विशेष उपहार प्रदान गरिएको थियो । पत्रकार सम्मेलनमा राकिटिकले राखेका केही भनाइको नेपाली अनुवाद यस्तो छ–

– बार्सिलोना छाड्दा मलाई गुमाएजस्तो लागेको छैन । यो पनि करिअरको एक पाटो हो । बार्सिलोना विश्वकै सबैभन्दा ठूलो क्लब हो । र, यो कहिल्यै बदलिने छैन । योा क्लब छाड्दै गर्दा मलाई सबैजसो साथीभाइले भनेका छन्– बार्सा भनेको बार्सा नै हो । हरेक खेलाडीका लागि बार्सिलोनाबाट खेल्नु सपना हुन्छ । मैले त्यो सपना पूरा गरें, ६ वर्ष खेलेर ।

– फुटबलको यात्रा जहिल्यै पनि जोखिमपूर्ण हुने गर्छ । सानो कुराले पनि करिअरमा पटक–पटक नयाँ र कठिन मोडहरू ल्याउन सक्छ । बार्सिलोनाजस्तो ठूलो क्लबमा जाने–आउनेक्रम चलिरहन्छ । म ६ वर्षअघि यहाँ आएँ । आज जाँदैछु । यहाँबाट जाँदा मेरो दिलमा बार्सिलोनाका थप्रै यादहरू रहनेछन् । यहाँ बिताएका सुख–दुख, उतारचढाव, खुसीयाली, फ्यानहरूको अपार माया म कहिल्यै भुल्नेछैन ।

– ६ वर्ष यहाँ रहँदा मैले जीवनमा कति कमाएभन्दा पनि महान् खेलाडीसँग खेल्न पाएँ । धेरै कुरा सिक्न पाएँ । मेरो जीवनका लागि यी नै खास सम्पत्ति हुन् । म यहाँ जति पनि रहें, सधैं टोलीको प्रमुख हिस्सा बनें । टिमलाई जिताउन र जित्न मैले सधैं सकेको योगदान गरें । हामीले खेल र उपाधि जित्दा अरूले जस्तै मैले पनि खुसीयाली मनाएँ । हार्दा र गुमाउँदा म पनि रोएँ । यहाँबाट जाँदा खुसीका पल मात्रै लैजानेछैन, आँसुका पलहरू पनि संगालेर लानेछु ।

– विश्वको सबैभन्दा ठूलो र उत्कृष्ट क्लबमा खेल्न पाएँ, ६ वर्षसम्म । एक खेलाडीका लागि यो धेरै ठूलो र लामो समय हो । मैले करिअरको सुनौलो समय पार गर्नेक्रममा एक महान् क्लबको महान् जर्सी लगाएँ । सायद आजबाट खेलाडीका रूपमा मैले फेरि कहिल्यै यो जर्सी लगाउन पाउनेछैन । बार्सिलोना आजबाट मेरो विगत बन्नेछ । तर, म बार्सिलोनालाई सधैं माया गरिरहनेछु ।

– बार्सिलोना विश्वका महान् खेलाडी भएको टोली हो । यहाँ मैले जाभी, इनिएस्टादेखि मेस्सीसँग खेल्ने अवसर पाएँ । मेस्सी, जसबाट मैले सधैं सिक्ने अवसर पाएँ । एक महान् खेलाडीसँग खेल्दाका अनुभव र ज्ञान मेरो बाँकी करिअरमा पनि काम लाग्नेछ । यहाँका खेलाडी, ड्रेसिङ रुम, कोचिङ स्टाफ, पदाधिकारी, अन्य कर्मचारी सबैलाई म सधैं याद गर्नेछु । यहाँका मायालु फ्यानहरूलाई म कहिल्यै भुल्नेछैन ।

– ६ वर्षअघि यही ठाउँमा पहिलोपटक उभिएर मैले भनेको थिएँ– यो मेरो पहिलो दिन हो, यो यात्रा धेरै लामो हुनेछ । तर, आज अलबिदा भन्ने दिन हो । र, हाम्रो सहयात्रा यही विन्दुबाट सकिँदैछ । एकप्रकारले म खुसी छु । यसर्थमा कि, मैले बार्सिलोनाजस्तो क्लबबाट खेलें । यसर्थमा दुःखी छु कि– म विश्वकै एक महान् क्लब र महान् खेलाडीको टोली छाडेर जाँदैछु । मलाई आशा छ– यहाँका फ्यानहरूले मलाई सधैं याद गर्नुहुनेछ । र, बार्सिलोनाको इतिहासमा म एक हिस्सा बनेर रहनेछु । मलाई यति भए पुग्छ ।

***

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार १५:३१
Loading...