जिदानद्वारा रोनाल्डोसहित रियलका खेलाडीको शानदार तारिफ

एजेन्सी, भदौ १७
स्पेनिस रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोसहित आफ्ना केही खेलाडीको खुलेर तारिफ गरेका छन् । नयाँ सिनजको पूर्वसन्ध्यामा फ्रेन्च म्यानेजरले खास गरी पोर्चुगिज फरवार्ड रोनाल्डो र जर्मन मिडफिल्डर टोनी क्रुसको तारिफ गरेका छन् । यतिसम्म कि, जिदानले आफूले खेल्न नदिएर भविष्य नै संकटमा परेपछि क्लब छाड्ने तयारीमा रहेका वेल्स स्टार ग्यारेथ बेलको पनि प्रंशसा गर्न पछि परेनन् ।

जिदानले स्टार मिडफिल्डर टोनी क्रुसको निकै खुलेर तारिफ गरेका छन् । क्रुस लजालु स्वभावको खेलाडी भएको तर खेलका विषयमा उनी बोल्दा उनका सहकर्मी र प्रक्षिकले समेत उनका कुरा सुन्नैपर्ने जिदानले बताएका छन् । ‘क्रुस निकै लजालु स्वभावका छन् । तर, जब उनी बोल्छन्, त्यो सबैले सुन्नैपर्छ । सहकर्मी खेलाडी र प्रशिक्षकले समेत उनका कुरा सुन्नुपर्छ,’ जिदानले भनेका छन्, ‘किनभने, उनको सोच र शैली अनुसार टोलीको योजना र रणनीति बनेको हुन्छ । उनी हाम्रा एक प्रमुख खेलाडी हुन् ।’

जिदानले क्रुसको तािरफ गर्दै उनी विश्व फुटबलका एक उत्कृष्ट खेलाडी रहेको बताए । ‘यसमा कुनै शंका छैन, क्रुस आफ्नो पोजिसनका लागि आधुनिक फुटबलका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । मिडफिल्ड चलाउने उनीजत्तिको क्रिएटिभ खेलाडी मैले यस समयमा देखेकै छैन,’ जिदानले भने ।

जिदानले पूर्वखेलाडी रोनाल्डोको तािरफ गर्न पनि बिर्सिएनन् । ‘क्रिस्टियानोको विषयमा धेरै बोल्नै पर्दैन । उनले रियलका लागि खेले र हामीले च्याम्पियन्स लिगमा ह्याट्रिक गर्न सक्यौं । जस्तै खराब अवस्थामा पनि उनी टिमलाई ऊर्जा दिइरहन्थे, आफू निराश हुँदैनथिए । तब त हामीले पटक–पटक ला लिगा र कोपा डेल रे हारे पनि च्याम्पियन्स लिग जित्यौं । उनी एक नेता खेलाडी हुन्, जो सबैभन्दा माथि छन्,’ जिदानले भने ।

जिदानले आफूले पछि कुनै बेला रियलमा रहँदा उत्कृष्ट खेलाडीहरूलाई प्रशिक्षण गरेको थिएँ भनेर भन्न पाउँदा आफूलाई गर्व लाग्ने बताए । ‘जब म प्रशिक्षण जागिरबाट विश्राम लिन्छु, त्यसपछि मैले रियलमा क्रिस्टियानो, क्रुस, मोड्रिक, बेलजस्ता खेलाडीलाई प्रशिक्षण गरें भन्दा आफैंलाई गर्व महसुस गर्नेछु,’ जिदानले थपे, यहाँ काम गर्दाको समय र खेलाडी मेरो जीवनका खास सम्झना हुनेछन् ।’

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार १४:०१
Loading...