बार्सिलोना पुगेर मेस्सीका पिताले भने, ‘मेस्सी यहीं रहन कठिन छ’

एजेन्सी, भदौ १७
स्पेनिस बार्सिलोनाका प्रमुख खेलाडी लिओनल मेस्सीका एजेन्टसमेत रहेका उनका पिता जोर्गे मेस्सीले आफ्ना छोराले क्याम्प नोउमै भविष्य निरन्तरता दिन कठिन रहेको बताएका छन् । हिजो (सोमबार) अर्जेन्टिनाबाट आफ्ना छोराको सरुवा टुंगो लगाउने उद्देश्यले बार्सिलोनासँग बैठक गर्न स्पेन पुगेका जोर्गेले बार्सिलोना उत्रिएपछि मिडियासँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

विमानस्थल उत्रिँदा पत्रकारले घेरेपछि जोर्गेले केही नबोली धरै पाएनन् । सोक्रममा उनले सटिक प्रक्रिया दिँदै मेस्सी बार्सिलोनामै रहन कठिन रहेको बताए । ‘बोल्नलाई अहिले मसँग केही छैन । भएपछि भनौंला,’ जोर्गेले सुरुमा भने ।

तर, पत्रकारले ‘मेस्सी बार्सिलोनामै रहन सक्छन् ?’ भनेर पटक–पटक सोधेपछि जोर्गेले नबोली धरै पाएनन् । उनले जवाफ दए, ‘अहिलेसम्म मैले यो निकै कठिन देखिरहेको छु ।’

सोमबारै बार्सिलोना पुगेका जोर्गे र बार्सिलोनाका अध्यक्षबीच आज मंगलबार औपचारिक बैठक हुने अपेक्षा गरिएको थियो । स्पेनिस मिडियाका अनुसार जोर्गे अध्यक्ष जोसेप मारिया बार्टोमेउलाई भेट्न बार्सिलोनाको कार्यालय पनि पुगे । तर, बार्टोमेउले बैठकका लागि समय दिन नसकेपछि बैठक अर्को दिन (बुधबार बिहान) हुने सम्भावना छ ।

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार १३:१२
Loading...