यी हुन् यस साता छुटाउनै नहुने ७ रोमाञ्चक अन्तर्राष्ट्रिय खेलहरू : सम्पूर्ण जानकारी

काठमाडौं, भदौ १७
युरोपमा नयाँ सिजन २०२०–२१ अन्तर्गत क्लब फुटबल सुरु हुनुअघि अन्तर्राष्ट्रिय खेलहरू हुँदैछन् । जसमा पहिलो चरणमा युइएफए नेसन्स लिगअन्तर्गत सुरुआतका दुई खेल हुनेछन् । नयाँ सिजनमा प्रवेश गर्नुअघि हुने यस प्रतियोगितामा यस साता केही रोमाञ्चक खेलहरू हेर्न पाइनेछ ।

विश्व फुटबलका महाशक्ति राष्ट्रहरूले समेत खेल्ने यस प्रतियोगितामा केही यस्ता खेल छन् हुनेवाला छन्, जुन खेल फुटबलप्रेमीहरूका लागि सधैं चासो र प्रतीक्षाका खेल हुन्छन् । नयाँ सिजनअघि फुटबल समर्थकहरू नेसन्स लिगमा हुने यी रोमाञ्चक खेलहरूको पर्खाइमा छन् ।

सुरुआती पहिलो चरणको खेलमा जर्मनी, स्पेन, पोर्चुगल, फ्रान्स, बेल्जियम, क्रोएसिया, इंग्ल्यान्ड, इटाली, नेदरल्यान्ड्स पोल्यान्ड सहितका देशहरूले खेल्नेछन् । त्यसमा पनि पूर्वविश्वच्याम्पियनहरू जर्मनी र स्पेनको खेल व्यग्र पर्खाइको खेल हो । त्यसैगरी, नेदरल्यान्ड्स र पोल्यान्डको खेल पनि उत्तिकै महत्त्वपूर्ण छ ।

यता, यस प्रतियोगिताको साबिक च्याम्पियन पोर्चुगल र सन् २०१८ को विश्वकपको उपविजेता क्रोएसियाको खेल अर्को रोमाञ्चक खेल हुनेछ । यसै चरणमा विश्वकप विजेता फ्रान्स र स्वीडेनको खेल पनि हेर्न पाइनेछ । भोलि रातिबाट सुरु हुने प्रतियोगिताअन्तर्गत पहिलो चरणमा हुने प्रमुख खेलहरूको खेल तालिका तल छ ।

नेपाली समयअनुसार पहिलो चरणका खेल तालिका :

  • जर्मनी भर्सेस स्पेन – बिहीबार राति १२ः३० बजे
  • इटाली भर्सेस बोस्निया एन्ड हर्जगोभिना – शुक्रबार राति १२ः३० बजे
  • नेदरल्यान्ड्स भर्सेस पोल्यान्ड – शुक्रबार राति १२ः३० बजे
  • आइसल्यान्ड भर्सेस इंग्लयान्ड – शनिबार राति ९ः४५ बजे
  • पोर्चुगल भर्सेस क्रोएसिया – शनिबार राति १२ः३० बजे
  • स्वीडेन भर्सेस फ्रान्स – शनिबार राति १२ः३० बजे
  • डेनमार्क भर्सेस बेल्जियम – शनिबार राति १२ः३० बजे

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार ०५:५६
Loading...